निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष लामाद्वारा पाँच ओटा एम्बुलेन्स वितरण

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ छ ।

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष एवम् सङ्घीय सभासद् जिपछिरिङ लामाले दोलखाका पाँच ओटा स्थानीय तहलाई एक–एक ओटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । लामाले आफ्ना आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

लामाले तामाकोसी गाउँपालिका ३ जफेँ, मेलुङ गाउँपालिका वडा नं ६, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका वडा नं ९ तथा जिरी नगरपालिका वडा नं १ को स्वामित्वमा रहने गरी एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ छ ।

एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सभासद् लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन सबैलाई आग्रह गरेका छन् । ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस्,’ सभासद् लामाले भने, ‘मेरा लागि दोलखाबासी सबै समान हुन्, अझै थप ५ एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु ।’

एकै पटक १० ओटा एम्बुलेन्स ल्याउँदा भन्सारमा समस्या हुने भएकाले अबको केही महिनाभित्रै थप ५ ओटा एम्बुलेन्स ल्याएर सबै तहमा वितरण गर्ने जानकारी दिए । एम्बुलेन्स खरिदमा सभासद् भएबापत आउने तलब–भत्ताको रकम खर्च गरिएको बताए । यसअघि पनि सभासद् लामाले विभिन्न विद्यालय, गुम्बा र मन्दिर निर्माणमा सहयोग गरेका थिए । यसैगरी भूकम्पमा ज्यान गुमाएका दोलखालीहरुको परिवारलाई प्रतिव्यक्ति १५ हजारका दरले राहत वितरण गरेका थिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, सङ्घीय सभासद् पार्वत गुरुङ र शान्ति पाख्रिनलगायतको सहभागिता थियो ।