प्रदेश ३ को राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल

बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले पुसभित्रै प्रदेश ३ को नामकरण सक्ने दाबी गरेका छन् । अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने भएकाले हेटौंडाबाट अन्त नसर्ने बताएका छन् ।

काठमाडौ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको राजधानी हेटौंडामै रहने बताएका छन् । उनले पुसभित्रै प्रदेशको नामकरण पनि सकिने बताए ।

बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले पुसभित्रै प्रदेश ३ को नामकरण सक्ने दाबी गरेका छन् । अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने भएकाले हेटौंडाबाट अन्त नसर्ने बताएका छन् । ‘हामी यो दश महिना भुइँ र सुकुलमा बसेर काम गरेका हौं,’ उनले भने, ‘यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं । हामी बल्ल ट्रयाकमा हिँडेका छौं ।’

मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरि राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे । १३ ओटै जिल्लामा हाम्रा कार्यालय स्थापना भैसकेका छन् । डिभिजन कार्यालयहरु सबै बनिसकेका छन् ।’

काम गर्नका लागि आफूहरुले वातावरण तयार पारेको उनको जिकिर छ । उनले भने, ‘प्रदेश सरकार गठन भएको अहिले दश महिना भयो । यो अवधिमा सरकारले के गर्यो भनेर प्रश्नहरु उठेका छन् । होलान् । तर, यो अवधिमा प्रदेश सरकार चुप लागेर बसेको छैन । केही समस्या थिए । हामीलाई कानुनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानुन थिएनन् । कानुन नबनाईकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानुन बनाउनका लागि प्राथमिकता दिएका थियौं ।’