अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीच गत डिसेम्बरमा ९०–दिन व्यापार युद्धलाई रोक्ने र विवादलाई साम्य पार्ने पहल थाल्ने सहमति भएको थियो । तर उनीहरूबीच सहमतिका बुँदाबारे फरक फरक धारणाहरू आएका छन् ।
बेइजिङ : चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ ।
यसै सिलसिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने र समस्याको समाधान निकाल्न तयार रहेको बिहीबार जनाएको छ ।
विश्वका दुई विशाल अर्थतन्त्रबीच व्यापार, साइबर आक्रमण र चिनियाँ टेलिकम हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वाङझाओको क्यानडामा भएको पक्राउ र अमेरिकालाई सुपुर्दगी गर्ने विषयले दुई देशको सम्बन्धमा समस्या देखिएको छ । यद्यपि मेङलाई क्यानडाबाटै धरौटीमा रिहाई गरिएको छ ।
“हाल दुवै देशका सरकार निकट सम्पर्कमा छन् । चीनले अमेरिकालाई समस्या समाधानार्थ वार्ताका लागि चीनमा स्वागत गर्न वा अमेरिका जान खुला धारणा राख्न तयार छ,” वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकारसँगको नियमित भेटमा बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीच गत डिसेम्बरमा ९०–दिन व्यापार युद्धलाई रोक्ने र विवादलाई साम्य पार्ने पहल थाल्ने सहमति भएको थियो । तर उनीहरूबीच सहमतिका बुँदाबारे फरक फरक धारणाहरू आएका छन् ।
वाशिङ्टनका अनुसार चीनले अमेरिका पठाउने कारहरूमा कर कटौति गर्न र सोयविन तथा भटमास र अन्य अमेरिकी उत्पादनलाई ठूलो मात्रामा खरिद गर्न तयार रहेको बताउँदै आएको छ ।
गाओले बिहीबार दुई पक्षबीच सहमति भएको बताए पनि सहमति के के विषयमा भएको हो भन्नेबारे विस्तृतमा भने बताउन चाहेनन् । गाओले भने, “चिनियाँ र अमेरिकी समूहहरू वार्ताका लागि निकटमा रहेर निरन्तर वार्ता गरिरहेका र विवादका विषयमा सहज वातावरण बनिरहेको छ ।” सुरक्षा विषयमा देखिएका बढ्दा समस्याले व्यापार वार्तालाई प्रभावित पार्ने देखिएको छैन ।
क्यानडाले हुवावेकी अधिकारी मेङलाई पक्राउ गरेको बदलामा चीनले दुई क्यानेडाली नागरिकलाई सोमबार चीनबाट पक्राउ गरेको राजनीतिक विश्लेषकहरूको अनुमान छ । यद्यपि यसबारे चीनको भनाइ आइसकेको छैन ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बुधबार म्यरिअट होटेलबाट चीनले व्यापक अमेरिकी तथ्याङ्कहरू ‘ह्याक’ गरेको आरोप लगाएका थिए ।रासस/एएफपी