no-image

सेयर बजार २८ अङ्कले बढेको साता नेप्सेमा डेढ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको हो । मङ्गलबारबाहेक सबै दिन नेप्से बढेको यो साता उत्साहजनक रुपमा परिसूचक उक्लेको छ ।

लगानीकर्ताले सेयर बजार सुधारको माग राख्दै रिले अनशन सुरु गरेको साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ अर्ब ६१ करोडको कारोबार भएको छ । सेयर बजार २८ अङ्कले बढेको साता नेप्सेमा डेढ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको हो । मङ्गलबारबाहेक सबै दिन नेप्से बढेको यो साता उत्साहजनक रुपमा परिसूचक उक्लेको छ ।

साताको दोस्रो दिन सोमबार ४३ करोड रुपैयाँको कारोबार भए पनि त्यसबाहेकका दिनमा कारोबार कम भयो । नेप्सेमा आइतबार २२ करोड, सोमबार ४३ करोड, मङ्गलबार ३८ करोड, बुधबार २६ करोड तथा विहीबार ३२ करोड रुपैयाँको कारोबार भयो ।

साताको पहिलो दिनदेखि लगानीकर्ताले नेपाली पुँजी बजारको सुधारका लागि १० बुँदे माग राख्दै नेप्से भवन अगाडि रिले अनशन सुरु गरेका थिए । त्यसदिन नेप्से १० अङ्कले बढेको थियो । यस्तै सोमबार १२ अङ्क बढेको नेप्से मङ्गलबार ३ अङ्क घटेको थियो । बुधबार ०.०८ अङ्क तथा बिहीबार ७ अङ्कले नेप्से बढ्यो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग्दै लगानीकर्ता अनशन बसेपछि अर्थमन्त्रालयले चार सदस्यीय समिति बनाएको छ । उक्त समितिले पुँजी बजार सुधारका लागि आवश्यक तत्त्वलाई अध्ययन गरेर अर्थमन्त्रालयमा पेस गर्ने छ । तर, लगानीकर्ताले उक्त समितिले बनाएको प्रतिवेदन आफूहरुलाई मान्य नहुने बताउँदै आएका छन् ।

उनीहरुले सेयर लगानीकर्ता दबाब समूह गठन गरेर अर्थमन्त्रीको राजीनामा वा सेयर बजार सुधारका लागि आफूहरुले राखेका माग पूरा गर्नुपर्ने बताउँदै आएका छन् । यता साताको सेयर बजारमा बैङ्क ब्याजदरको प्रभाव भने कम देखियो ।