जिब्राे लाेभ्याउने बदामी चिकेन

यो स्वादिष्ट चिकेन पकाउने विधि जानेर तपाईंले आफू तथा पाहुनाका लागि घरमै रेस्टुराँको स्वाद लिन सक्नुहुनेछ ।

आज हामी चिकेनबाट तयार हुने एउटा स्वादिलो परिकार बनाउने तरिका सिकाउँछौं । यो स्वादिष्ट चिकेन पकाउने विधि जानेर तपाईंले आफू तथा पाहुनाका लागि घरमै रेस्टुराँको स्वाद लिन सक्नुहुनेछ ।

आवश्यक सामग्री
एउटा चिकेन (ससाना टुक्रा पार्नुहोस्)
एक कप दही
६ ओटा प्याज (ससाना टुक्रा पार्नुहोस्)
अदुवा एक टुक्रा
लसुनका १० ओटा पोटी
६ ओटा ल्वाङ
एक टुक्रा दालचिनी
५–७ ओटा सुकमेल
१० ओटा काजु दाना
१० ओटा बदाम दाना
एक कप नरिवलको दूध
आधा कप तेल
नुन
आधा चम्चा बेसार
खुर्सानीको धूलो

तरिका
अदुवा, लसुन, ल्वाङ, दालचिनी, सुकमेल, काजू र बदामको पेस्ट बनाउनुहोस् ।

एउटा ठूलो कराहीमा तेल तताउनुहोस् । तेल तातेपछि प्याज हाल्नुहोस् । प्याजलाई एकछिन भुटेपछि मसलाको पेस्ट हाल्नुहोस् र राम्ररी फ्राई गर्नुहोस् ।

यसरी फ्राई गरिरहँदा त्यसमा ठूलो चम्चाको तीन चार चम्चा पानी हाल्नुहोस् । अब त्यसमा भएको तेल माथि तैरिन्छ । अनि त्यसमा दही र टुक्रा पारिएको चिकेन हाल्नुहोस् ।

त्यसपछि नुन, बेसार तथा धूलो खुर्सानी हालेर राम्ररी पकाउनुहोस् । १० मिनेटजति पकाएपछि त्यसमा नरिवलको दूध मिसाउनुहोस् । राम्ररी पाकेपछि चुलोबाट झिक्नुहोस् र हरियो धनियाको पातले सजाउनुहोस् ।

अब स्वादिष्ट बदामी चिकेन तयार भयो ।