महायज्ञबाट ९७ लाख सङ्कलन

महायज्ञमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका सुमन रानामगरले तीन लाख ६७ हजार र सोही ठाउँका जनकराज सिग्देलले तीन लाख ५५ हजार दान गरेको नगरपालिकाका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा ९७ लाख सङ्कलन भएको छ ।

मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा ९७ लाख तीन हजार १९६ रूपैयाँ सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका सुमन रानामगरले तीन लाख ६७ हजार र सोही ठाउँका जनकराज सिग्देलले तीन लाख ५५ हजार दान गरेको नगरपालिकाका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।

सिद्धेश्वरी मन्दिर निर्माण गर्ने र जुवादी अमलकोटको ज्वालादेवी मन्दिरसम्म पुग्ने पदमार्ग विस्तार गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज खनालले बताए ।

भागवत रसिक युवा गुरु ऋषिराम महाराजले कथावाचन गरेको महायज्ञमा चौरासी पूजा, एकल तथा सामूहिक ब्रतबन्ध, नवग्रह शान्ति पुजन, विवाह, तुलादान, लाखबत्ती प्रज्ज्वलन, पितृ उद्धार, १००८ शालिग्राम परिक्रमालगायत कार्य गरिएका थिए । रासस