लागूऔषध चरेशसहित क्यानेडियन नागरिक पक्राउ

बैङ्कक जान लागेका राहदानी नम्बर एजी ७५१८९० बाहक क्यानेडियन नागरिक ६१ वर्षीय टेनिडेनिस् लीगलाई हेण्डब्यागमा लुकाइछिपाई लैजान लागेको अवैध लागूऔषध चरेश करिब ३ किलो सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट थाई एयरको उडानद्वारा बैङ्कक जान लागेका राहदानी नम्बर एजी ७५१८९० बाहक क्यानेडियन नागरिक ६१ वर्षीय टेनिडेनिस् लीगलाई हेण्डब्यागमा लुकाइछिपाई लैजान लागेको अवैध लागूऔषध चरेश करिब ३ किलो सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीले उक्त लागूऔषधसहित लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर पठाएको छ ।

​यसैगरी काठमाडौं महानगरपालिका रानीवारीबाट लागूऔषध कोकीन ४ ग्राम, लागूऔषध चरेश १ किलो, लागू औषध वेचविखन गर्ने तराजु , जेएसडी ३.५ पिस र एमडीएमए १.७ ग्राम सहित शनिबार साँझ प्रहरीले तीन जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२२ यटखा बस्ने २८ वर्षिय आशिषमान श्रेष्ठ, काठमाडौं गोंगवु बस्ने २८ वर्षीय सनि महर्जन र काठमाडौं लाजिम्पाट बस्ने भारत मुम्बई महाराष्ट्र घर भएका राजिव रामेश्वर लुथरा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । ​

दाङ तुलसीपुर उपमहानगरपालिका-५ न्युरोड घर भएकी सोही उपमहानगरपालिका-१२ टरीगाउँमा होटल गरी बस्ने ४० वर्षीया शान्ता गिरीलाई अवैध लागूऔषध खैरो हेरोइन ६ सय मिलीग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।​ यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ