
उनीहरुले अन्तिम मागका रुपमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, धितोपत्र बोर्डका अध्यक्ष, बैङ्कर्स सङ्घका अध्यक्ष, सेयर लगानीकर्ता सङ्घका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्यको राजीनामा माग गरेका छन् ।
काठमाडाैं : सेयर लगानीकर्ता दबाब समूहले आमरण अनशन सुरु गरेको दिन सोमबार सेयर बजार १५ अङ्कले बढेको छ । लगानीकर्ताले आमरण अनशन सुरु गर्दै सेयर कारोबार नगर्न लगानीकर्तालाई आह्वान गरेका थिए । उनीहरुले अर्थमन्त्रीसहित ५ जनाको तत्काल राजीनामा माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) भवन अगाडि आमरण अनशन सुरु गरेका छन् ।
दबाब समूहका संयोजक हरि ढकालसहित तिलक कोइराला अनशन बसिरहेका छन् । उनीहरुले अन्तिम मागका रुपमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, धितोपत्र बोर्डका अध्यक्ष, बैङ्कर्स सङ्घका अध्यक्ष, सेयर लगानीकर्ता सङ्घका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्यको राजीनामा माग गरेका छन् ।
प्रेस विज्ञप्ति निकाल्दै उनीहरुले सोमबारदेखि सेयर कारोबार गर्ने लगानीकर्ता र ब्रोकर कम्पनीले हुन गएका दुर्घटनामा स्वयम जिम्मेवारी हुनुपर्ने चेतावनी दिएका छन् । तर, सेयर लगानीकर्ता दबाब समूहको बन्दको अवज्ञा गर्दै अन्य लगानीकर्ताले सेयर कारोबार गरेका छन् ।
कारोबार सुरु भएदेखि नै उकालो लागेको सेयर बजार १५.१७ अङ्क बढ्दै ११८२.४९ अङ्क कायम भएको छ । नेप्से सोमबार ११६७.३९ अङ्कबाट सुरु भएको थियो । दिनभर लगातार बढेको नेप्से अन्तिम समयमा तीव्र गतिले बढ्दै १५ अङ्कको वृद्धि छोयो ।
११ समूहकै कारोबार भएको दिन आज सोमबार नेप्सेमा व्यापार समूहबाहेक सबै समूहको सूचक उकालो लागेको छ । व्यापार समूह ३.०४ अङ्कले घटेको छ भने निर्जीवन बिमा २२०.५१, जीवन बिमा १९५.९६, लघुवित्त ४०.२१, उत्पादनमूलक २३.२१ तथा बैङ्किङ समूह ९.१५ अङ्कले बढेका छन् ।
सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको ४ करोड ८३ लाख रुपैयाँको कारोबार हुँदा नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर ९.४२ प्रतिशतले बढेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य ३.७३ प्रतिशतले घटेको छ ।
सेयर लगानीकर्ता श्याम ढकालले केही लगानीकर्ता पुँजी बजारका लागि आमरण अनशन बस्दै गर्दा केही लगानीकर्ताले बजारमा कारोबार गर्नु अनौपचारिक रुपमा असहयोग भएको बताए । उनले त्यस्ता लगानीकर्ता पुँजी बजारको सुधार नचाहने प्रवृत्तीका भएको बताए ।
नेप्सेमा आज १ सय ५९ कम्पनीका ३ हजार ६ सय ७० कारोबारबाट १२ लाख ६० कित्ता सेयर खरिदबिक्री भई ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर कारोबार नगर्न आह्वान भएको दिन आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि उत्साहजनक वृद्धि भएको छ ।