नेपालमा उत्पादन भएका इन्जिनियरले जापानमा आफ्नो क्षमता र दक्षता देखाउने भएका हुन् । सिस्टम डेभलपमेन्ट कामदारहरूको ठूलो अभाव रहेको जापानले भियतनामबाट आईटी इन्जिनियर ल्याउने गरेको छ ।
काठमाडौं । वार्षिक पाँच सय नेपाली इन्जिनियरलाई जापानको आईटी कम्पनीले लैजाने भएको छ । तत्काललाई वर्षको सय जना आईटी इन्जिनियर पठाउने भए पनि आगामी दिनमा वार्षिक ५०० सम्म पुर्याउने लक्ष्य लिइएको छ ।
आईजीसी टेक्नोलोजीको समन्वयमा ओसाकास्थित हिबिकु कम्पनी प्रालि र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं इन्जिनियरिङ् कलेजबीच नेपाली आईटी इन्जिनियर लैजाने सहमति भएको हो । नेपालमा वार्षिक १० हजार इन्जिनियर उत्पादन हुन्छन् ।
नेपालमा उत्पादन भएका इन्जिनियरले जापानमा आफ्नो क्षमता र दक्षता देखाउने भएका हुन् । सिस्टम डेभलपमेन्ट कामदारहरूको ठूलो अभाव रहेको जापानले भियतनामबाट आईटी इन्जिनियर ल्याउने गरेको छ ।
आईजीसी टेक्नोलोजीले हिबिकु कम्पनीसँगको सहकार्यमा काठमाडौं इन्जिनियरिङ कलेजमा अध्ययनरत जापान जान चाहने विद्यार्थीलाई एक वर्ष जापानिज भाषा सिकाउने छ । यसका लागि प्रत्येक वर्ष जापानिज आईटी कम्पनीहरूलाई काठमाडौं इन्जिनियरिङ कलेजमा जब फेयर गरी हाई स्किल भिसामा जापान लाने सहमति भएको छ ।
हिबिकुका अध्यक्ष यामानो शिनिचिइरोले जापानमा अहिले आईटी इन्जिनियर, सफ्टवेयर डेभलपरहरूको माग करिब चार लाख रहेको भन्दै यसका लागि नेपालको आईटी इन्जिनियरहरू सहयोगी हुने जानकारी दिए । त्यस्तै आईजीसी टेक्नोलोजीका अध्यक्ष गणेशमान लामाका अनुसार जापानमा अहिले हाईस्किल वर्करहरूको आवश्यक्ता रहेकाले नेपाली आईटी इन्जिनियरलाई अवसरै अवसर रहेको बताए ।
जापनमा काम गर्न त्यहाँको भाषा आवश्यक पर्नाले आईजीसीले जापान जान चाहने विद्यार्थीलाई निःशुल्क जापनिज भाषा पढाइदिने लामाले बताए ।