भृकुटीमण्डप खुलाबजारमा यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’

काठमाडौं निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले भृकुटीमण्डप खुलाबजारमा यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’ राखिने बताएकी छन् । काठमाडौं निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।

जनतासँग सरोकार राख्ने कानुन निर्माणले तीव्रता पाउने उनको भनाइ छ । उनले जनतासँग सरोकार राख्ने केही कानुन निर्माण भइसकेको र अब बाँकी कानुन निर्माणको कामले तीव्रता पाउने बताइन् ।

मन्त्री थापाले सङ्घीय संरचना स्थापित भैसकेपछि मौलिक हकसँग सम्बन्धित काम बनाइसकेको बताइन् । उनले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धताहरु पनि सरकारले क्रमशः पूरा गर्दे लैजाने विश्वास दिलाइन् ।

संविधान र कानुनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको पनि उनले जनाइन् । मन्त्री थापाले जनताको हक र हितका लागि नै सरकार आफ्नो काममा केन्द्रित भएको जिकिर गरिन् ।

त्यस्तै मन्त्री थापाले भृकुटीमण्डप खुलाबजारमा त्रिपालको स्टल हटाएर यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’ राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । स्थापना दिवसका अवसरमा सङ्घले बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरेको सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिए ।