दक्षिण कोरियाले जस्तै जापानले पनि नेपालीलाई वर्किङ भिषामा लैजाने भएको हो । सन् २०१९ को अप्रिलदेखि जापानमा कामदार लैजाने प्रस्ताव आएको छ । भाषा परीक्षामार्फत् जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ तोकिएको छ ।
काठमाडौं : जापान सरकारले भाषा परीक्षामार्फत् नेपाली कामदार लैजाने भएको छ । यसअघि दक्षिण कोरियाले भाषा परीक्षामार्फत् नेपालीलाई विगत केही वर्ष अघिदेखि लगिरहेको छ ।
दक्षिण कोरियाले जस्तै जापानले पनि नेपालीलाई वर्किङ भिषामा लैजाने भएको हो । सन् २०१९ को अप्रिलदेखि जापानमा कामदार लैजाने प्रस्ताव आएको छ । भाषा परीक्षामार्फत् जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ तोकिएको छ ।
नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको जापानमा निर्धारित भाषापरीक्षा उत्तीर्ण गरेका युवालाई कामदारका रुपमा त्यहाँ लैजाने भएको हो । जापानको सरकारी समाचार संस्था एनएचकेको खबरअनुसार जापान सरकारले भाषा परीक्षामार्फत् कामदार आपूर्ति गर्न कम्बोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरी बाँकी एक देशसँग छलफल भइरहेको बताइए पनि सोमबार ९ देशमा भिसा प्रक्रियाका लागि जाँच लिने प्रस्ताव गरिएको हो । प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको छ ।
जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित चौध किसिमका उद्योगहरूलाई पहिलो श्रेणीमा राखिएको छ । नयाँ भिसाका लागि कामदारले अनिवार्य रूपमा सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।