विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सूक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, “उहाँहरुले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण गर्नुभयो, निरीक्षणको अन्तिम दिन छलफल भयो, माटोमा समस्या रहेको औँल्याइएको छ ।”
बाँके । सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् ।
विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, “उहाँहरुले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण गर्नुभयो, निरीक्षणको अन्तिम दिन छलफल भयो, माटोमा समस्या रहेको औँल्याइएको छ ।” विज्ञहरूले परीक्षण गर्न माटो लैजान चाहेको तर सरकारी प्रक्रिया लामो हुने भएकाले उनीहरूले नलगेको चर्चा गर्दै उनले थप अध्ययन गर्न पुराना कागजात लागिएको र करिब एक महिनाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिए ।
घुलनशील माटोमाथि अम्लियपन बढी भएको माटो भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सकिने र समस्याग्रस्त ठाउँमा तल–माथि र दायाँ–बायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने पनि विज्ञहरूले सुझाएका थिए । पश्चिम मूल नहरको ४५ किमीमध्ये २० देखि ३५ किमी खण्डमा बढी समस्या देखिएको छ ।
प्राकृतिक भौगर्भिक समस्याले नहर भत्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इञ्जिनीयरको दोष देखाउँदै निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितताको आरोपमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बिक्रम पाण्डेलगायत २१ जनालाई २ अर्ब रुपैयाँबराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो ।
सिँचाइ आयोजनाको मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरीय कार्य हुन नसकेको र एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनः परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको १४ वर्ष भएको छ । यो अवधिमा आयोजनामा १५ अर्ब रुपैयाँ पैसा खर्च भएको छ ।