वारेन बफेटको उत्तराधिकारी को बन्ला ?

प्रमोसनको घोषणा हुनुको कारण स्वास्थ्य सम्बन्धी चिन्ता होइन, १९६५ देखि बर्कसायरको सञ्चालन गरिरहेका बफेटको भनाइ छ । तर, आफूले बर्कसायरलाई कहिलेसम्म नेतृत्व गरिरहने भन्ने स्पष्ट पारेनन् । उनले भने १० वर्षको समय धेरै लामो होला ।

बर्कसायर ह्याथवे इन्कले बुधवार आफ्ना वरिष्ठ प्रशासक ग्रेगरी एबल र अजित जैनको प्रमोसन गरेको छ । अब यी दुवैजना कम्पनी सञ्चालनका लागि वारेन बफेटको उत्तराधिकारी हुने तहको निकै नजिक पुगेका छन् । अजित जैन भारतीय मूलका नागरिक हुन् । उनको जन्म सन् १९५१ मा भारतको ओडिशा राज्यमा भएको हो ।

बर्कसायर ह्याथवे इनर्जीका चिफ एग्जिक्युटिभ ५५ वर्षीय एबललाई नन–इन्स्योरेन्स बिजनस अपरेसनका लागि बर्कसायरको भाइस चेयरम्यान बनाइएको छ जबकि कम्पनीका वरिष्ठ इन्स्योरेन्स एग्जिक्युटिभ ६६ वर्षीय जैनलाई इन्स्योरेन्स अपरेसनको भाइस चेयरम्यान बनाइयो । सँगसँगै यी दुवैलाई बर्कसायरको बोर्डमा पनि सामेल गरिएको छ । यी दुईजना बोर्डमा सामेल भएपछि कम्पनीमा डायरेक्टरहरुको सङ्ख्या १२ बाट बढेर १४ पुगेको छ ।

अहिलेलाई ८७ वर्षीय बफेट बर्कसायर ह्याथवेका चेयरम्यान र चिफ एग्जिक्युटिभमा यथावत रहनेछन् र चार दशकसम्म बफेटका तर्फबाट काम गरिरहेका ९४ वर्षीय चार्ली मङ्गर भाइस चेयरम्यानको पदमा कार्यरत रहनेछन् । हाल दुवैले ठूलो पुँजी वितरण र अधिग्रहण समेत लगानीसँग जोडिएका ठूल्ठूला निर्णय लिइरहने छन् ।

बफेटले एउटा अन्तर्वार्तामा एबल र जैनको रगतमा बर्कसायर भएको भन्दै भनेका थिए, परिवर्तनका लागि समयसँगै उत्तराधिकारतर्फ पाइला बढिरहन्छन् । उनले एबल र जैनलाई आफ्नो कम्पनीका दुई प्रमुख अनुहार भएको बताएका थिए । उनले यो पनि भने कि दुवैलाई भाइस चेयरम्यान बनाउने आइडिया मङ्गरको थियो । बफेटले भने, बर्कसायरको एक ठूलो हिस्सालाई म्यानेज गर्न उनको स्थान कसले लेला, यो हेर्नु अहम् हुनेछ । उनले यसका लागि एबल र जैनबीच प्रतिस्पर्धाको आशङ्कालाई नकारे ।

बफेटले भने, ’ती दुवैले एक अर्कालाई साह्रै राम्रोसँग बुझेका छन् । दुवैलाई अलग–अलग क्षेत्रमा विशेषज्ञता प्राप्त छ ।’ प्रमोसनको घोषणा हुनुको कारण स्वास्थ्य सम्बन्धी चिन्ता होइन, १९६५ देखि बर्कसायरको सञ्चालन गरिरहेका बफेटको भनाइ छ । तर, आफूले बर्कसायरलाई कहिलेसम्म नेतृत्व गरिरहने भन्ने स्पष्ट पारेनन् । उनले भने १० वर्षको समय धेरै लामो होला ।

बर्कसायर ह्याथवेका ९० भन्दा बढी अपरेटिङ युनिटहरु छन् । यिनमा बीएनएसएफ रेलरोड, जीको अटो इन्स्योरेन्स, डेरी क्विन आइस क्रीम, फ्रुट अफ द लूम अन्डरवेयर, सीज क्यान्डीजसहित धेरै प्रकारका औद्योगिक र केमिकल अपरेसनहरु छन् ।