एक महिनादेखि नगरवासी खानेपानीबाट वञ्चित

नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महिनादेखि खानेपानी पाउन नसकेर हैरान छन् । 

गौशाला : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महिनादेखि खानेपानीबाट वञ्चित छन् ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महिनादेखि खानेपानी पाउन नसकेर हैरान छन् ।

जलेश्वर नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा खानेपानीको ग्राहक रहेकोमा ती कुनै पनि वडामा विगत एक महिनादेखि पानी नआएकाले र उपभोक्ता काकाकूल भएका छन् ।

ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङजस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का राजकिशोर साहले बताए । करिब एक महीनादेखि खोपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुनलगायतका कामकाजमा निक्कै समस्या भएको जलेश्वर–४ का राजु श्रेष्ठले बताए ।

यस सन्दर्भमा नेपाल खानेपानी संस्थान जलेश्वरका प्रशासन प्रमुख अजयकुमार प्रसादले जलेश्वर नगरपालिकाको मुख्य बाटो भएरै सहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्सट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लागेको क्रममा खानेपानीको पाइप ठाउँठाउँमा तोडेकाको कारण खानेपानी कार्यालयले पानीको सप्लाइ रोक्नुपरेको र सोही कारण उपभोक्ता खानेपानीबाट वञ्चित हुनुपरेको बताए ।

उनले खानेपानीको कुनै गल्ती कमजोरी नरहेको, खानेपानीमा पानी पर्याप्त मात्रामा जम्मा रहेको र खानेपानी कुनै पनि बेला पानी तयार रहेको बताए । तर नाला निर्माणको लागि ह्युम पाइप राख्नको लागि स्काइभेटरले बाटो खन्दा ठाउँठाउँमा खानेपानीको छ इन्च र आठ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेकाले पानी सप्लाइ दिएपछि पूरै सहर नै जलमग्न हुने भएकाले पानीको सप्लाइ रोकेको बताए ।

खानेपानी कार्यालयले जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र र महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पनि खानेपानी उपभोक्ताको समस्याबारेमा जानकारी गराउँदा उनीहरुले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने र खानेपानी उपभोक्ताले निर्वाधरुपमा पानी खानुपर्ने बताए, तर ठेकेदार कम्पनी आफ्नो कामप्रति मात्रै केन्द्रित भई खानेपानीको पाइप मर्मतमा खासै चासो नदेखाएको नगरवासीले गुनासो गरेका छन् । रासस