जिल्लामा उत्पादित वस्तुलाई निशुल्क प्रदर्शनीस्टलको व्यवस्था गरिएको छ ।
जिल्लामा भएका विभिन्न सम्भावनाहरुको उजागर गर्ने मुख्य उद्देश्यले सदरमुकाम बेनीमा आजदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छैठौं म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, आद्यौगिक व्यापारिक मेला सुरु हुँदैछ । दस दिनसम्म चल्ने महोत्सवको शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा महोत्सवको सबै तयारी पूरा भएको छ । महोत्सवको सबै तयारी पूरा भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए । महोत्सवस्थल खुल्ला मञ्चमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । महोत्सवमा दुई सय स्टल रहेको सङ्घका महासचिव लीलाराम गौतमले जानकारी दिए । जिल्लामा उत्पादित वस्तुलाई निशुल्क प्रदर्शनीस्टलको व्यवस्था गरिएको छ । कृषकहरुलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन कृषि विकास कार्यालयको सहकार्यमा कृषि मेला प्रदर्शनी समेत गरिने भएको छ ।
उद्घाटनपूर्व बेनी बजारमा झाँकी सहितको ¥याली निकालिने छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष कर्माचार्यले बताए । म्याग्दीलाई समेटेको कालीगण्डकी करीडोर सडक आयोजना, जलविद्युत् आयोजना, पर्यटकीय मार्ग र कोरला नाका सञ्चालन गराउन महोत्सवमार्फत् सकारात्मक सन्देश प्रवाह गराउने लक्ष्य छ । महोत्सवमा म्याग्दीका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृति र जीवनशैली झल्काउने तस्बिर तथा वृतचित्र समेत प्रदर्शनी गरिने सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
स्थानीय तहस्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गीत प्रतियोगिता, कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुति, झाँकी प्रदर्शनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने आयोजकले जनाएका छन् । पर्यटन प्रर्वद्धनका लागि कालीगण्डकीमा ¥याफ्टिङ र बेनीदेखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ । महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।