जेसीजको राष्ट्रिय अध्यक्षमा सुदीप राजभण्डारीको उम्मेदवारी

नेपाल जेसीजको ४५ औं महाधिवेशन पुसको ७ देखि १० गतेसम्म जनकपुरमा हुँदै छ । जेसीज अभियानमा डेढ दशक लागेका राजभण्डारीले बागलुङ जेसीज र नेपाल जेसीजका अरु विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

युवा व्यवसायी सुदीप राजभण्डारीले नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । बागलुङ जेसीजका पूर्वअध्यक्ष रहेका राजभण्डारी नेपाल जेसीजका पूर्व उपाध्यक्षसमेत हुन् ।

नेपाल जेसीजको ४५ औं महाधिवेशन पुसको ७ देखि १० गतेसम्म जनकपुरमा हुँदै छ । जेसीज अभियानमा डेढ दशक लागेका राजभण्डारीले बागलुङ जेसीज र नेपाल जेसीजका अरु विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

युवाहरुको सञ्जालको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा नै फैलिएको जेसीज अभियानमार्फत् नेपाली युवाहरुको क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि यसपालिको नेतृत्व आफूले लिन लागेको उनले बताए ।

‘मुलुकमा अहिले राजनीतिक स्थिरता कायम भएको अवस्थामा युवाहरुलाई मुलुकभित्र नै रोजगार सिर्जनाका लागि नेपाल सरकारसँग जेसीजले परामर्शदाताको रुपमा काम गर्न सक्छ, हामी विदेश जाने युवाको सङ्ख्या घटाएर नेपालमै रोजगारीमा आबद्ध हुन प्रोत्साहन गर्छाैं,’ उनले भने ।

नेपालको निजी क्षेत्र र सरकारसँग समन्वय गरेर नेपालका युवाहरुको सबैभन्दा ठूलो सञ्जाललाई प्रयोग गर्न सकिने कुरामा आफू विश्वस्त रहेको उनले बताए । जेसीजभित्र उद्योगी, व्यवसायी, राजनीतिज्ञदेखि लिएर बैङ्कर र भर्खर स्टार्टअप कम्पनी हुने युवाहरु पनि आबद्ध छन् । उच्च सिप भएका र विदेशमा अध्ययन गरेर आएका युवाहरु पनि आबद्ध भएकाले अब फराकिलो दायरामा जानका लागि आफूले नेतृत्व लिन लागेको उनले बताए ।

‘नेपाल जेसीजको सचिवालयलाई सरकार र निजी क्षेत्रबीचको समन्वय गर्ने पुलको रुपमा पनि स्थापित गर्न सकिन्छ, जेसीजमा आबद्ध युवाहरुको क्षमता पहिचान गरेर सरकार र निजी क्षेत्रलाई जेसीजका युवाहरुको क्षमतालाई प्रोत्साहन गर्न अगाडि बढाउने पनि योजना छ,’ उनले भने ।

युवाहरुलाई नेतृत्वविकास तालिम, रोजगारमूलक तालिमदेखि अन्तर्राष्ट्रिय फोरममा नेपाललाई प्रतिनिधित्व गर्ने गरी युवाहरुको सहभागिता बनाउने आफ्नो योजना रहेको उनले बताए ।

राजभण्डारी बागलुङ शाखा अध्यक्ष हुँदा देशभरमै उत्कृष्ट शाखा अध्यक्षका रुपमा तारा अवार्डले सम्मानित भएका थिए । सन् २०११ मा राष्ट्रिय उपाध्यक्ष, २०१२ मा आईटी प्रोगाम कोअर्डिनेटर र २०१४ मा कानुनी सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसकेका राजभण्डारी नेतृत्व विकासको कुशल प्रशिक्षक पनि हुन् ।

नेपाल जेसीजमा देशभरिका १४५ शाखाका १७०० मतदाता छन् ।