लामो समयको प्रहरी अनुसन्धानपछि समितिले बुझाएको प्रतिवेदनमा प्रहरीले घटनाको अनुसन्धानमा लापरबाही गरेको ठहर गरिएको छ । निर्मला हराएको खबर पाउनासाथ प्रहरीले खोजी थालेको भए घटना नहुन सक्ने समेत समितिले औंल्याएको छ ।
काठमाडौं । कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरबाही गरेकै कारण हत्यारा पत्ता लाग्न नसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानमा खटिएका प्रहरीले चरम गल्ती गरेको भन्दै व्यापक विरोध भएपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
लामो समयको प्रहरी अनुसन्धानपछि समितिले बुझाएको प्रतिवेदनमा प्रहरीले घटनाको अनुसन्धानमा लापरबाही गरेको ठहर गरिएको छ । निर्मला हराएको खबर पाउनासाथ प्रहरीले खोजी थालेको भए घटना नहुन सक्ने समेत समितिले औंल्याएको छ ।
घटनाको रेस्पोन्स नगरेको प्रहरीले गत साउन १० गते निर्मला हराएको भन्दै परिवार प्रहरीकहाँ पुग्दासमेत खोजी कार्यमा नगएको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुखदेखि अन्य प्रहरीको गल्ती देखाएको छ ।
निर्मला हराएको दिन निर्मलाकी आमा दुर्गादेवी पन्त नजिकैको प्रहरी कार्यालयमा पुगेर छोरी हराएको भन्दै रिपोर्ट गर्दासमेत वास्ता नगरिएको समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी जिल्ला प्रहरी प्रमुख घटनाप्रति गम्भीर नबन्दा घटनाले अर्कै मोड लिएको समितिको प्रतीवेदनमा छ ।
तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टको कार्यालयको दूरी निर्मलाको शव भेटिएको ठाउँबाट करिब तीन किलोमिटर मात्रै छ । तर, पनि उनी घटनास्थलमा चार दिनपछि मात्रै पुगे, प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले घटनास्थल सुरक्षित गर्ने, अन्य व्यक्तिको प्रवेशलाई रोक गर्नेलगायतका काम नगरेको देखिएको छ । नेपाल प्रहरीले प्रत्येक अपराध अनुसन्धान गर्ने एकाईमा सोको अफिसर, प्रमाण सङ्कलन गर्न सोको किट बक्सको समेत व्यवस्था गरेको छ, समितिको प्रतिवेदनमा छ ।
घटनामा प्रमाण बरामद नगरेको प्रहरीको सबैभन्दा ठूलो भुल भन्दै घटनास्थलमा प्राप्त सबुत प्रमाण बरामद नगरेको उल्लेख गरिएको छ । शवमा भेटिएको कपडा र अम्बाको झोला सुरक्षित नराखेर प्रहरीले गल्ती गरेकाले कारबाहीको लागि सिफारिस गरिएको छ ।
शव भेटिएपछि कुकुर प्रयोग नगर्नुलाई पनि समितिले गम्भीर गल्ती ठहर गरेको छ । प्रहरीले झुटो प्रमाण पेस गरेको समेत प्रतिवेदनमा उल्लेख छ । प्रहरीले अभियुक्त सार्वजनिक गरेका दिलीपसिंह विष्टको विरुद्ध गोलीको टुक्रा ल्याएर नक्कली प्रमाण पेस गरेको समेत प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा प्रहरीले निर्मलाको हत्या अभियोगमा सार्वजनिक गरेका ४१ वर्षीय दिलीपसिंह विष्टलाई यातना दिएर कबुल गर्न लगाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले क्यापिटललाई जानकारी दिए ।
१८ जनालाई कारवाही गर्न समितिको सिफारिस
निर्मला पन्तको घटना छानबिन गर्न बनेको एआईजी धिरु बस्न्यातको टोलीले १८ जना प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
समितिले बुझाएको प्रतिवेदनमा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी डिल्लीराज विष्टलगायत १८ जनालाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो ।
समितिले बुझाएको प्रतिवेदनमा एसपी विष्टसहित दुई डीएसपीहरु अङ्गुर जिसी, ज्ञानबहादुर सेती, तीन जना इन्स्पेक्टर, चार जना सई, तीन हवल्दार र बाँकी ५ जना जवानलाई कारबाहीका लागि सिफारिस गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
अनुसन्धानमा लाफरबाही गर्ने प्रहरीलाई के कारवाही ?
गत भदौदेखि लागू मुलुकी अपराध संहिता नक्कली अभियुक्त र प्रमाण लोभ गर्ने प्रहरीमाथि ६ महिनादेखि ५ हजार रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।
के भदौदेखि लागू संहिताले साउन महिनामा भएको घटनामा त्यही अनुसारको कारबाही गर्ला त ?
मुलुकी अपराध संहिताको दफा ९९९२० अनुसार बदनियतपूर्वक अनुसन्धान गर्ने प्रहरीलाई ६ महिना कैद तथा पाँच हजार रुपैयाँसम्म वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
संहितामा उल्लेख भएअनुसार कानुनबमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले वदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन ।
त्यस्तै उपदफा ९१० बमोजिमको कसुरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानी, नोक्सानी भएमा निजले त्यस्तो कसुरदारबाट क्षतिपूर्ति भराई लिन सक्नेछ समेत व्यवस्था गरिएको छ ।
क्षतिपूर्तिका लागि भने पीडित वा अख्तियारप्राप्त व्यक्ति अदालत जानु पर्नेछ । प्रहरीले के के प्रमाण नष्ट गर्योे स्पष्ट खुल्न भने सकेको भने छैन ।