चेम्बरमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा राजेशकाजी श्रेष्ठ पुनः निर्वाचित भएका छन् । चेम्बरको नयाँ विधानसहित ६७ औँ साधरणसभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी चेम्बर कार्यसमितिमा विशिष्ट मानार्थ उपाध्यक्षका रूपमा रहने छन् । आठ पदाधिकारीसहित ६१ जनाको कार्यसमिति सर्वसम्मतिबाट छनोट भएको हो ।

त्यस्तै पूर्व सांसद ईच्छाराज तामाङ वस्तुगत उपाध्यक्षमा र व्यवसायी दीपक मल्होत्रा जिल्ला उपाध्यक्षमा निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षमा कमलेश अग्रवाल, उद्योग उपाध्यक्षमा महेन्द्रमान श्रेष्ठ र द्विराष्ट्रिय उपाध्यक्षमा नरेश श्रेष्ठ निर्वाचित भएका छन् । ५५ जना कार्यसमिति सदस्य पनि सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।