पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सात अाेटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । 

धनुषा : श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।

मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सात अाेटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन ।

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा सुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ।

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा सुरु गर्न आन्तरिक तयारी भइरहेको बताए । उनले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको जानकारी दिँदै भने, “पुस १५ देखि सेवा सुरु गर्न सकिने अवस्था हेरेर नै समयसीमा तोकिएको हो र सोहीबमोजिम तयारी भइरहेको छ ।”

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम सुरु गर्न समय नलाग्ने बताए । उनले तोकिएको समयबाट नै सेवा सुरु हुने बताए । नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृत आउने तरखरमा रहेको जानकारी दिए । रासस