राष्ट्रिय जलवायु सम्मेलन हुने

सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ । सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

काठमाडौँ : जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले यही पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना गर्न आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही पुस १६ गते हुनेछ । सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ । सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

औद्योगिक मुलुकले उत्सर्जन गर्ने कार्बनको मार नेपालीले खेप्नुपरेको हुँदा औद्योगिक मुलुकले कार्बन उत्सर्जनबाट गरेर कार्बन उत्सर्जन नगर्ने मुलुकलाई शुल्क तिर्नुपर्नेलगायतका विषयमा सम्मेलनमा छलफल हुने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।

पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटाले विश्वको सबैभन्दा महत्त्वका साथ कार्यसूचीमा राखिएको जलवायु परिवर्तनको विषयसम्बन्धी सम्मेलन सिन्धुपाल्चोकमा हुन लागेकोप्रति खुशी व्यक्त गर्दै नेपालले कार्बन उत्सर्जन गरेर कुनै गल्ती नै नगरी जलवायु परिर्वनको असर भोग्नुपरेको बताए ।

पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले विश्वमा कार्बन उत्सर्जन गर्नेमा नेपाल चौथो स्थापनमा देखिएको तर नेपालले कार्बन उत्सर्जनको अवस्था शून्य हुँदा पनि सो मारमा नेपाली परेकोप्रति बृहत् छलफल गनुपर्ने जरुरी देखिएकाले सम्मेलन गर्नुपरेको बताए ।

सिन्धुपाल्चोकमा सो सम्मेलनको आयोजना गर्न लागेको भए पनि जलवायु परिर्वतनको क्षेत्रमा जनप्रतिनिधि नै सहभागी भएर हुन लागेको यो पहिलो राष्ट्रिय सम्मेलन हो ।