हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

हुवावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डलगायतका मुलुकहरूमा सुरक्षा चासो देखाउँदै सरकारी कार्यालय र सार्वजनिक ओहोदाका व्यक्तिलाई उक्त कम्पनीद्वारा निर्मित सामग्री प्रयोग नगर्न भनिएको थियो ।

बेइजिङ, चीन : विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कुल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो कम्पनीका अध्यक्षले बिहीबार बताएका छन् ।

हुवावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डलगायतका मुलुकहरूमा सुरक्षा चासो देखाउँदै सरकारी कार्यालय र सार्वजनिक ओहोदाका व्यक्तिलाई उक्त कम्पनीद्वारा निर्मित सामग्री प्रयोग नगर्न भनिएको थियो । बेलायतले पनि उक्त कम्पनीद्वारा निर्मित इलेक्ट्रोनिक सामग्री प्रयोग नगर्न आफ्नो सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

हुवावेका अध्यक्ष कुओ पिङले नयाँ वर्षको सन्देशका रूपमा खुशी बाँडदै आफ्नो कम्पनीले सन् २०१८ मा एक खर्ब आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरको कारोबार गरेको बताए । यो गत वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

कुओले थपे, “कम्पनीले यस वर्ष ‘फाइभ जी’ प्रविधिका लागि विभिन्न देशसँग २६ व्यावसायिक सम्झौता गरेको छ ।” आफ्नो कम्पनीमाथि एकाएक अविश्वसनीय पक्षपातपूर्ण व्यवहार भएपनि कम्पनीले आम्दानीलाई बढाउन सफल बनेको उनले बताए ।

हुवावेले यस पहिला कसैप्रति कुनै सुरक्षा चुनौती खडा नगरेकोे र भविष्यमा पनि नगर्ने उनको दाबी थियो । “सुनलाई परीक्षण गर्ने उत्तम विकल्प आगो हो ।” हुवावे पनि आफ्नो कठीन परीक्षणको अवस्थामा रहेको र अन्त्यमा सत्यको विजय हुने उनको भनाइ थियो । रासस/एएफपी