अन्यौलताका बीच कङ्गोमा मतदान

आफ्नो भविष्य निर्धारण गर्न देशभरि ठूलो सङ्ख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

किन्शास : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विवादका बीच आइतबार मतदान भएको छ । निर्वाचन स्थगित गरेर पछाडि सार्ने कि डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने अन्यौलताका बीच मतदान भएको हो ।

आफ्नो भविष्य निर्धारण गर्न देशभरि ठूलो सङ्ख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति जाेसेफ काबिलाको कार्यकाल सकिएकाले नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनका क्रममा केही हिंसात्मक घटनाहरु भएका थिए ।

यसअघि तय गरेको निर्वाचन पछाडि सारिएकाले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा विपक्षीहरुले आशङ्का गरेका छन् । संयुक्त राष्ट्रसङ्घले यसअघि तय गरिएको निर्वाचनको वातावरण, स्वच्छता र निष्पक्षतामा प्रश्न उठाएपछि निर्वाचन पछाडि सरेर अहिले भएको हो ।

राष्ट्रपति काबिलाले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा आशङ्का नगर्न आह्वान गर्दै निर्वाचनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
राष्ट्रपति काबिला विगत १७ वर्षदेखि लोकतान्त्रिक गणतन्त्र कङ्गोकाे राष्ट्रपतिका रुपमा छन् । रासस/सिन्ह्वा