भीआईपी एरियाका अव्यवस्थित तार हटाइँदै

तार व्यवस्थापनका लागि महानगरले इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान) नेपाललाई जिम्मेवारी तोकेको छ । तर वित्तीय व्यवस्थापनको समस्याका कारण आइस्पानले विभिन्न सेवाप्रदायक संस्थासँग आर्थिक सहयोग लिएर मात्रै अघि बढ्ने बताएको छ ।

काठमाडौं : काठमाडौं महानगरपालिकाले भीआईपी एरियालाई लक्षित गर्दै अव्यवस्थित तार हटाउने भएको छ । नेपाल दूरसञ्चार प्रधिकरण, विद्युत् प्रधिकरण, काठमाडौं महानगरपालिका र इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपालको समन्वयमा तार व्यवस्थापन अभियान सुरु भएको हो ।

अभियानलाई तीव्र रुपमा अघि बढाउने चारओटै निकायको दाबी छ । अव्यवस्थित तारका कारण सहर कुरुप भएको भन्दै छिट्टै अनावश्यक र अव्यवस्थित तार हटाउने महानगरपालिकाका निर्देशक हरिबहादुर कुवँरले बताए । सेवाप्रदायकले नयाँ तार थपे पनि पुराना तार नहटाउँदा आकस्मिक दुर्घटना र जोखिम निम्तिएकाले अव्यवस्थित तार हटाउने अभियान अघि बढाइएको उनको भनाइ छ ।

सहरका पोलपोल टाँगिएका पुराना र अनावश्यक तारका गुजुल्टाका कारण एक त सहरी सौन्दर्य कुरुप बनेको छ । ‘पहिलो चरणमा बढी आवादी भएको सहरको कोर एरियालाई टार्गेट गरेर तार हटाउँछौं,’ उनले भने, ‘महाराजगन्ज, बालुवाटार जस्ता भीआईपी एरियाबाट काम सुरु गर्छौं ।’ लामो समयसम्म विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा अन्य निकायहरुलाई तार हटाउन भने पनि अटेरी गरेको महानगरको आरोप छ ।

अब भने सम्बन्धित निकायलाई गराउने र अटेर गरेमा महानगर आफैंले त्यस्ता तार हटाउने भएको हो । महानगरले सडक छेउछाउमा बन्ने भवन बनाउँदा फोहोर व्यवस्थापन कसरी गर्ने, विद्युतीय र नेटको तार कसरी व्यवस्थापन गर्ने भन्नेबारे निर्माण व्यवसायी, सरोकारवाला निकाय र आम महानगरवासीलाई छलफल तथा सचेतनात्मक कार्यक्रम गर्दै आएको कुँवरले जानकारी दिए ।

तार व्यवस्थापनका लागि महानगरले इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान) नेपाललाई जिम्मेवारी तोकेको छ । तर वित्तीय व्यवस्थापनको समस्याका कारण आइस्पानले विभिन्न सेवाप्रदायक संस्थासँग आर्थिक सहयोग लिएर मात्रै अघि बढ्ने बताएको छ ।

तत्काल भीआईपी एरियामा तार व्यवस्थापन गर्न झन्डै ६० हजार रुपैयाँ आवश्यक पर्ने आइस्पानका कोषाध्यक्ष पुष्कल बडालको भनाइ छ । नेपाल टेलिकमले वित्तीय सहयोग गरेकाले अन्य सेवाप्रदायक संस्थाको सहयोग र महानगरबाट अधिकार प्राप्त भएपछि छिट्टै तार व्यवस्थापनमा जुट्ने उनले जानकारी दिए ।