चीनको अर्थतन्त्र तर्कसङ्गत अवस्थामा : राष्ट्रपति सी

नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई गरेको सम्बोधनमा उनले भने, “चिनियाँ जनताको सुख र सम्वृद्धितर्फको यात्रा निरन्तर अघि बढेको छ । चिनियाँ जनताको जीवनशैलीमा विस्तारै प्रगति भइरहेको छ ।” 

बेइजिङ, चीन : सन् २०१८ मा चीनको आर्थिक विकास तर्कसङ्गत अवस्थामा रहेको राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई गरेको सम्बोधनमा उनले भने, “चिनियाँ जनताको सुख र सम्वृद्धितर्फको यात्रा निरन्तर अघि बढेको छ । चिनियाँ जनताको जीवनशैलीमा विस्तारै प्रगति भइरहेको छ ।”

उनले चीनले यो वर्षका लागि तय गरेको वायु, जल तथा माटोको प्रदूषण नियन्त्रण गर्ने र रोक्ने अभियानमा बेइजिङ लागिपरेको र यसमा केही सुधार ल्याउन सफल भएको पनि बताए ।

बेइजिङ–तियानजिन–हेवेइ क्षेत्रको विकासका लागि समन्वयकारी विकासलगायतका राष्ट्रिय रणनीतिक कार्यक्रम, याङजे आर्थिक मार्गको विकास र कुआङडोङ–हङकङ–मकाओ ग्रेटर वे क्षेत्रको निर्माण कार्यलाई बिस्तारै कायान्वयनतर्फ लगिएको राष्ट्रपति सीले बताए ।

उक्त अवसरमा राष्ट्रपति सीले आफ्नो निरीक्षण भ्रमणमा याङजे नदी वरपरको प्रदूषणमा सुधार देखेको उल्लेख पनि गरे । उत्तरपूर्वी प्रान्तहरूमा कृषि उत्पादनमा वृद्धि, सेनझेन र साङ्घाई क्षेत्रको सुधारमा विशेष उर्जाका साथ कामहरू भइरहेको जनाउँदै उनले यसैवर्ष हङकङ–झुहाई–मकाओ पुल पनि प्रयोगका लागि खुला गरिएको बताए ।

उनले भने, “समग्रमा यस बर्ष १०० भन्दा बढी महत्त्वपूर्ण सुधारका कार्य भएका छन् ।” सुधारवादी नीति लिएको ४० औँ वर्षमा आइपुग्दा चीनले धेरै सुधारका काम गरेको र यसबाट चीनको आर्थिक विकासमा अपेक्षाकृत उपलब्धी भएको उनको दाबी थियो । रासस/एएफपी