सडकमा बस्ने असहायहरुलाई घर फर्काउँदै प्रहरी

जाडोका कारण सडकमा बस्ने असहायहरु बिरामी तथा मृत्यु हुने गरेको देखिएपछि प्रहरी त्यस्ता असहायको उद्धारमा जुटेको काठमाडौं परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौं : काठमाडौंका सडकमा रहेका बालबालिका तथा वृद्धवृद्धाहरुलाई उद्धार गर्न प्रहरीले अभियान थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मङ्गलबारदेखि काठमाडौंका सडक पेटीमा बस्ने असहाय तथा अनाथहरुलाई उद्धार गर्न थालेका हो । प्रहरीले मङ्गलबार साँझ मात्र काठमाडौंको स्वयम्भु क्षेत्रको सडकमा बस्ने ७ जना वृद्धालाई उद्धार गरी हिमालय वृद्धाश्रम गोंगबुमा बुझाएको छ ।

जाडोका कारण सडकमा बस्ने असहायहरु बिरामी तथा मृत्यु हुने गरेको देखिएपछि प्रहरी त्यस्ता असहायको उद्धारमा जुटेको काठमाडौं परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

मङ्गलबारदेखि सुरु भएको उद्धार अभियान निरन्तर चल्नेसमेत उनले बताए । उनका अनुसार प्रहरीले त्यस्ता व्यक्तिको उद्धार गरी केही वृद्धा तथा बालबालिकालाई आश्रमको जिम्मा लगाउने र पछि परिवारको खोजीगरी बुझाउने प्रहरीको तयारी छ ।

सडकमा भएका असहायहरु सहजै वृद्धाश्रममा जान नमान्ने गरेको समेत प्रहरीले जनाएको छ । ‘सडकमै खानेकुरा बाँडिने रहेछ,’ उद्धार अभियानमा जुटेका परिसरका डीएसपी राजेन्द्र पोखरेलले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘हामीले उद्धार गर्न खोज्यौं, तर असहायहरु सहजै आश्रममा जान मानेनन् ।’

उनीहरुलाई सडकमै खानेकुरा दिने भएकाले उनीहरु सडकमै बस्न रुचाएको डीएसपी पोखरेलले बताए । ‘सडकमा बस्नेहरुलाई हामी पहिला आश्रममा लगेर केही दिन राख्नेछौं, र परिवारको समेत खोजी गरेर जिम्मा लगाउने छौं,’ डीएसपी पोखरेलले भने ।

प्रहरीले उद्धार गरेकाहरुलाई तत्कालका लागि आवश्यक सामग्री पनि दिने गरेको छ । काठमाडौंका सडकमा भएका सम्पूर्ण असहायहरुलाई उद्धार गरी सडक बास मुक्त गर्ने अभियानमा प्रहरी जुटेको छ ।