नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बुधबार राति धादिङको गजुरीबाट २ सय ३५ केजी चरेस बरामद गरेको गरेको हो ।
काठमाडौं : भारतबाट बच्चाहरुका लागि प्रयोग हुने ड्राईप्याड बोकेर नेपाल आएको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरबाट प्रहरीले २ सय ३५ किलो अवैध लागुऔषध चरेस फेला पारेको छ । ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बुधबार राति धादिङको गजुरीबाट २ सय ३५ केजी चरेस बरामद गरेको गरेको हो ।
काठमाडौंबाट फर्किँदै गरेको भारतीय कन्टेनरमा लुकाई भारत निकासी गर्न लागेको अवस्थामा उक्त चरेस बरामद गरेको ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्यले जानकारी दिए ।
ब्युरोले चरेससहित भारतीय नागरिक सत्यन्द्र सिंह वेघल र पर्सा सोनवर्षा ५ का लाल महम्मद गद्दीलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट भारत फर्कँदै गरेको कन्टेनरमा धादिङमा चरेस लोड गरेको सूचनापछि ब्युरोको टोलीले निगरानी बढाएको डीआईजी अमात्यले बताए ।
भारतीय जेलबाट छुटेलगत्तै फेरि चरेस तस्करीमै
बुधबार राति २ सय ३५ किलो चरेससहित पक्राउ परेका लाल महम्मद गद्दी लागुऔषध मुद्दामा ३ वर्ष भारतीय जेलमा थिए ।
लामो समयदेखि चरेसको तस्करीमा संलग्न गद्दी केही समयअघि मात्र भारतीय जेलबाट छुटेर नेपाल आएका थिए ।
चरेस तस्करीमै भारतमा पक्राउ परेका गद्दी भारतबाट छुटेलगत्तै फेरि सोही कार्यमा लागेको प्रहरीले जनाएको छ ।
‘यस अघिसम्म चरेससँग भरिया मात्र पक्राउ पर्ने गरेका थिए,’ ब्युरोका डीआईजी अमात्यले भने, ‘यस पटक भने हामीले चरेस तस्करीका नाइके नै पक्राउ गरेका छौं ।’
गद्दीले यसैगरी भारतीय कन्टेनरमा लुकाएर अवैध चरेस तथा गाँजा भारत सप्लाई गर्दै आएको हुनसक्ने प्रहरीको दाबी छ ।
पक्राउ परेका २ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाइएको ब्यूरोले जनाएको छ ।