उपसमितिको निर्णय परिमार्जन हुने

शुक्रबार बसेको लेखासमितिमा अधिकांश सदस्यले उपसमितिले बनाएको प्रतिवेदन पूर्वाग्राही ढङ्गबाट आएको भन्दै परिमार्जनका लागि आवाज उठाएका थिए ।

काठमाडौं : नेपाल वायुसेवा निगमले ल्याएका दुई वटा वाइडबडी खरिदमा भएको अनियमितताको विषयमा सार्वजनिक लेखा उपसमितिले बनाएको प्रतिवेदन परिमार्जन गर्ने भएको छ ।

शुक्रबार बसेको लेखासमितिमा अधिकांश सदस्यले उपसमितिले बनाएको प्रतिवेदन पूर्वाग्राही ढङ्गबाट आएको भन्दै परिमार्जनका लागि आवाज उठाएका थिए ।

समितिका सदस्य हृदयेश त्रिपाठीले उपसमितिको प्रतिवेदन परिमार्जन गरेर मात्र निर्णयमा पुग्न समितिलाई अनुरोध गरेका थिए । उनले उपसमितिको प्रतिवेदन पूर्ण नभएकाले तत्काल निर्णयमा नजान सभापति भरतकुमार शाहको ध्यानाकर्षण गराएका थिए । काङ्ग्रेस सांसद मीनेन्द्र रिजालले प्रतिवेदन परिमार्जन गर्दा मूल मर्म कायमै राख्नुपर्ने बताएका छन् ।

समितिमा विवाद बढेपछि सोमबार ११ बजे पुनः यही विषयमा छलफल हुने गरी बैठक स्थगन भएको छ ।