काठमाडौं । सोमबार पानी परेपछि ट्रान्सफरमर र इन्सुलेटरमा समस्या आउदा विद्युत आपूर्ति अनियमित भएको छ । काठमाडौं उपत्यकाका धेरै स्थानमा बिजुली आपूर्ति अनियमित भइरहेको छ । ट्रान्सफरमर र इन्सुलेटर जल्नेलगायत प्राविधिक गडबडीले गर्दा बिजुली आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।
सोमबार साँझ सिंहदरबार ३३ केभीमा रहेको ट्रान्सफरम जल्दा आपूर्ति बन्दा भएको थियो । यस्तै भृकुटीमण्डप ११ केभीलगायत अधिकाँस स्थानका ट्रान्सफरमरमा समस्या आएको उनले जानकारी दिए । लामो समय सुख्खा भएकोमा पानी परेपछि प्राविधिक समस्या आएको र समधान हुने अधिकारीको भनाई छ ।
पानी परेर चिसो बढेपछि बिजुलीको माग बढी भइ ओभरलोड हुँदा तार जल्ने गर्दा बिजुली आपूर्ति निरन्तर हन नसकेको उनको भनाई छ । बिजुलीको माग बढेर १ हजार २२१ मेगावाट पुगेको छ । ६०४ मेगावाट आन्तरिक र ६०७ मेगावाट भारतबाट आपूर्ति भइरहेको उनले सुनाए ।
जसअनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ३९८, निजी क्षेत्रबाट २०६ मेगावाट आपूर्ति भइरहेको छ । सुख्खाका कारण नदीमा पानीको वहाव कम हुन गई बिजुली उत्पादन घटेको हो ।
प्राधिकरणले प्रसारणलाइन, सवस्टेशन टान्सफरमर र तारलगायत सबैं संरचनामा परिवर्तन गरिरहेकाले उपत्यका लगायत धेरै स्थानमा बिजुली आपूर्तिमा अवरोध हुँदै आएको छ । प्राधिकरणले प्रणालीको क्षमता विस्तार गरिरहेको छ ।