व्यापारी हुँ भन्दै ठग्दै हिँड्ने मैनाली पक्राउ, ठगेका सामान राख्न ठूलै गोदाम

काठमाडौंमा यसरी सिरियल ठगी गर्दै हिँड्ने मैनालीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ठगिएका व्यापारीहरुले उजुरी गरेका आधारमा प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

काठमाडौं : कैलाली धनगढी नगरपालिका फूलवारी ३ का वासुदेव मैनाली आफूलाई ठूलो व्यापारी हुँ भनी चिनाउँदै गएको दसैंताका काठमाडौंको टोखास्थित रामप्रसाद श्रेष्ठको मदिरा पसल गए ।

आफू ठूलो व्यापारी भएको र धेरैजनालाई रक्सी बाँड्नु पर्ने भन्दै मैनालीले श्रेष्ठको पसलबाट १८ लाख ५० हजारको विदेशी मदिरा किने । मैनालीले श्रेष्ठलाई गरिमा बिकास बैङ्क र सिभिल विकास बैङ्कको चेकसमेत दिए ।

त्यसको भोलिपल्ट श्रेष्ठ बैङ्कमा चेक साट्न गए । खातामा पैसा थिएन, अनि सम्पर्क गर्न खोजे, मैनालीको फोन अफ भयो । त्यतिखेर नै रामप्रसाद श्रेष्ठले आफू ठगिएको थाहा पाए ।

टोखाबाट १८ लाख ५० हजारको रक्सी बोकेर मैनाली कता हानिए कुनै पत्तो भएन । त्यसको केहि दिनपछि मैनाली फेरि ललितपुरको गाबहालस्थित निरन्जन जोशीको टीभी पसलमा गए । त्यहाँ पनि आफूलाई काठमाडौंको नामी व्यापारी भएको परिचय दिए । जोशीको पसलबाट पनि मैनालीले ३ लाख ५० हजारको टीभी किनेर नगद रकमको साटो चेक दिए ।

जोशी भोलिपल्ट चेक साट्न बैङ्क पुगे, खातामा पैसा थिएन । हतार हतार मैनालीलाई फोन गर्न खोजे, फोन अफ थियो । जोशी पनि आफू ठगिएको महसुस गरे ।

त्यसको केही दिनपछि मैनालीले टेकुमा एक पसलबाट जेनरेटर किने, र त्यसैगरी चेक दिए । अनि बालाजु र भक्तपुरका विभिन्न व्यक्तिका कोल्ड स्टोरबाट ट्रकका ट्रक अण्डा लिए, त्यसैगरी रकम नभएको चेक दिए ।

काठमाडौंमा यसरी सिरियल ठगी गर्दै हिँड्ने मैनालीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ठगिएका व्यापारीहरुले उजुरी गरेका आधारमा प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

मैनालीले ठगी गर्नकै लागि ३ ओटा नागरिकतासमेत लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मैनालीले रामचन्द शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीका नामबाट ३ ओटा नागरिकता लिएका छन् ।

‘व्यापारीलाई ठगी गर्नकै लागि ३ ओटा नागरिकता बनाएको देखियो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने, ‘नागरिकता नक्कली हो या सक्कली, हामी अनुसन्धान गर्दैछौं ।’

प्रहरीका अनुसार मैनाली होलसेल पसलमा जान्थे, सामान हेर्थे अनि महँगा सामानहरु किनेर चेक दिएर हिँड्थे । मैनालीले सामान लिनुअघि आफूलाई ठूलो व्यापारीको परिचय दिन्थे । त्यसरी लिएको सामान राख्न मैनालीले काठमाडौंको नारायनटारमा गोदाम बनाएका थिए ।

प्रहरीले मैनालीको गोदामबाट फ्रिज, टीभी, जेनरेटर तथा विभिन्न विदेशी ब्रान्डका रक्सी गरी १५ लाख बराबरका सामग्री बरामद गरेको छ । मैनालीले ठगेका ७ जना पीडितहरु प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रहरीको सम्पर्कमा आएका ७ जनाबाट मैनालीले ४० लाख रुपैयाँबराबर ठगी गरेको अनुसन्धानबाट खुलेको छ । मैनालीले धेरैलाई यसैगरी ठगी गरेको हुनसक्ने भन्दै सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ । मैनालीलाई महागरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।