कागजका बिटालाई अमेरिकन डलर भन्दै ठगी गर्ने २ जना पक्राउ

प्रहरीले सोमबार काठमाडौंको गोंगबु क्षेत्रबाट कागजका बिटाको बाहिर अमेरिकन डलर राखेर विभिन्न व्यक्तिलाई ठगी गर्ने सिन्धुली दुधौलीका २८ वर्षीय कुमसिङ घिसिङ र ३० वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौं : कागजको बिटालाई डलर भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोमबार काठमाडौंको गोंगबु क्षेत्रबाट कागजका बिटाको बाहिर अमेरिकन डलर राखेर विभिन्न व्यक्तिलाई ठगी गर्ने सिन्धुली दुधौलीका २८ वर्षीय कुमसिङ घिसिङ र ३० वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका घिसिङ र तामाङले कागजको बिटो बाहिर अमेरिकन डलर बेरेर सस्तोमा अमेरिकन डलर दिने बहानामा ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले कागजका बिटाको बाहिर १० र २० दरका अमेरिकन डलर राखेर पैसा भएका व्यक्तिलाई आफूसँग अमेरिकन डलर छ सस्तोमा बिक्री गर्ने भन्दै एकान्तमा लगेर ठगी गर्ने गरेका थिए ।

पक्राउ परेकाहरुले अमेरिकन डलरको कारोबार अवैध भएको भन्दै ग्राहकलाई एकान्तमा लगेर पहिला नेपाली रकम आफ्नो हात पारेपछि डलरको सट्टा कागज भन्ने थाहा पाए पनि धम्काएर कुटपिट गरेर भगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले अहिलेसम्म यसरी नै विभिन्न ब्याक्तिबाट २० लाखभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।