श्रममन्त्री र व्यवसायीबीचको इगोले मलेसियाको रोजगार खुलेन, अवसर गुम्ने खतरा बढ्यो

मङ्गलबार वैदेशिक रोजगार व्यवसायीसँगको छलफलमा बोल्दै सभापति श्रीवास्तवले मलेसियाको रोजगार नखुलेको विषयमा श्रममन्त्री विष्टसँग छलफल गर्ने बताएका छन् ।

काठमाडौं : सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तवले श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र म्यानपावर व्यवसायीहरुबीचको इगोका कारण मलेसियाको रोजगार अनिश्चित भएको बताएका छन् ।

मङ्गलबार वैदेशिक रोजगार व्यवसायीसँगको छलफलमा बोल्दै सभापति श्रीवास्तवले मलेसियाको रोजगार नखुलेको विषयमा श्रममन्त्री विष्टसँग छलफल गर्ने बताएका छन् । उनले भेन्डर चेन्जकै लागि लामो समयसम्म श्रममन्त्रीले कामदार पठाउन रोक्नु गम्भीर भएको भन्दै कतै मन्त्रीकै सेटिङ छ कि भन्ने विषयमासमेत आशङ्का व्यक्त गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले मन्त्री विष्ट भेन्डर चेन्जमा लागेका कारण हजारौं युवाहरु अलपत्र परेको बताए । उनले श्रममन्त्री विष्ट आफूले कारबाही गरेका संस्थाका सञ्चालकहरुबाटै कामदार पठाउने पक्षमा नभएको र मलेसिया सरकार भेन्डर चेन्जको पक्षमा नरहेका कारण समस्या उत्पन्न भएको बताएका हुन् ।

मलेसिया जाने युवाहरुबाट ठगी गरिरहेको आरोपमा श्रममन्त्री विष्टले गत जेठ २ गते तत्कालका लागि मलेसियामा कामदार नपठाउने घोषणा गर्दै भीएलएन, जीएससी, आईएससी, बायोमेट्रिक र वानस्टेप सेन्टरका सञ्चालकविरुद्ध मुद्दा दायर गर्दै केहीलाई थुनामा राखेर मुद्दासमेत चलाइएको थियो । तीमध्ये भीएलएन र बायोमेट्रिकका सञ्चालकलाई अदालतले सफाइ दिइसकेको छ ।

मलेसियाको रोजगार बन्द भएकै बेला श्रममन्त्री विष्टले श्रम समझदारी गरे । गत कात्तिक ११ गते हायात होटलमा नेपाल र मलेसियाबीच श्रम समझदारी भइसकेको छ । श्रम समझदारीपछि दुवै देशका प्रतिनिधिबीच भएको ज्वाइन्ट वर्किङ ग्रुपले तत्कालका लागि कलिङ भिसा प्राप्त गरेका १० देखि १५ हजार युवालाई मलेसियामा पठाउने सहमति भएको थियो । तर श्रम समझदारी भएको करिब ३ महिना बित्न लाग्दासमेत मलेसिया खुल्न सकेको छैन् ।

सङ्घका प्रथम उपाध्यक्ष हंसराज वाग्लेले मलेसियाको रोजगार खुलाउन श्रममन्त्री विष्टले नैतिकता देखाउन आवश्यक रहेको बताएका छन् । मन्त्रालयले कारबाही गरेको संस्था भीएलएनबाटै सरकारी कर्मचारीहरु मलेसियामा धमाधम घुम्न जान हुने तर कामका लागि युवाहरुलाई रोक्नु जायज हो या हैन भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ । उनले हालसम्म श्रममन्त्री विष्टले वैदेशिक रोजगार व्यवसायी सङ्घसँग औपचारिक छलफलसमेत गर्न नचाहेको बताएका छन् ।

यसैबीच मलेसियाका मानव संसाधन राज्यमन्त्री महफुज ओमारलाई उद्धृत गर्दै द सन डेलीले नेपाली कामदार आपूर्तिको समस्या समाधान हुन दुई महिना समय लाग्ने बताएको छ । विदेशी कामदार लिनेसम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति सुरु हुने जनाएको छ ।