जनार्दन शर्माले नियमविपरीत राखेका प्रहरी फिर्ता, पूर्वप्रहरी अधिकारीलगायतको घरबाट ८५ प्रहरी तानियो

प्रहरी प्रधान कार्यालयले शर्मालगायत पूर्वप्रहरी अधिकारीको सुरक्षा तथा घरमा काम गर्न बसेका ८५ प्रहरी कर्मचारी फिर्ता भएको जनाएको छ ।

काठमाडौं : पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत पूर्वप्रहरी अधिकारीको सुरक्षामा खटिएका ८५ प्रहरी कर्मचारीलाई तानिएको छ । प्रहरी प्रधान कार्यालयले शर्मालगायत पूर्वप्रहरी अधिकारीको सुरक्षा तथा घरमा काम गर्न बसेका ८५ प्रहरी कर्मचारी फिर्ता भएको जनाएको छ ।

पाउने सुविधाभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वगृहमन्त्री शर्माले प्रयोग गर्दै आएको नेपाल प्रहरीको अगुवा गाडीसहित ९ प्रहरी फिर्ता भएका हुन् ।

गृहमन्त्री हुँदा शर्माले पाएको सुरक्षाकर्मी फिर्ता गरेका थिएनन् । त्यसैगरी शर्माले पदबाट हटे पनि गृहमन्त्रीकै सरह प्रहरीको अगुवा गाडी र प्रहरी प्रयोग गर्दै आएका थिए । स्रोतका अनुसार शर्माले फिर्ता गरेका प्रहरीलाई बिदाई गर्न शुक्रबार बोलाएका छन् ।

त्यसैगरी नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व सांसद अमरेशकुमार सिंहको सुरक्षामा खटिएका प्रहरी पनि फिर्ता भएका छन् । त्यसैगरी मापदण्डविपरीत पूर्वआईजीपी, पूर्वएआईजी तथा पूर्वडीआईजीहरुको घरमा खटिएका प्रहरीलाई पनि फिर्ता बोलाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, रमेशचन्द ठकुरी, हेम गुरुङ, ओमविक्रम राणा र दुर्लभकुमार थापाका घरमा नियमविपरीत राखिएका १२ प्रहरी कर्मचारी फिर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसैगरी अवकाशप्राप्त पूर्वएआईजीहरुका घरमा कामदारका रुपमा रहेका तथा सुरक्षाका लागि भन्दै खटिएका ६२ जना प्रहरी पनि फिर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वएआईजी विजयलाल कायस्थका घरमा कामदारका रुपमा रहेका तथा सुरक्षाका लागि भन्दै राखिएका ४ जना, पूर्व एआईजी मिग्मार लामाको घरबाट ४ जना, मधु पुडासैनीको घरबाट २ जना, कमलसिंह बमबाट २ जना, हेमन्तबहादुर पालको घरबाट ३ जना, रणबहादुर चन्दको घरबाट ३ जना, त्यस्तै पङ्कज श्रेष्ठको घरबाट १ जना, विजय भट्टबाट २ जना, अमरबहादुर शाहबाट १ जना र दीपक थानदेनबाट २ जना प्रहरीलाई फिर्ता बोलाइएको हो ।

त्यसैगरी पूर्वडीआईजी गणेश केसीका घरमा रहेका ३ जना, पवन खरेलको घरबाट ३ जना, हिमबहादुर गुरुङको घरबाट २ जना, पुष्करलाल रेग्मीको घरबाट १ जना, इन्द्रबहादुर शेरचनको घरबाट १ जना, श्याम खड्काको घरबाट १ जना, नवराज सिलवालको घरबाट २ जना, दीपककुमार श्रेष्ठको घरबाट १ जना, रोमन्द्रसिंह देउजाको घरबाट १ जना, गोविन्द्र निरौलाको घरबाट १ जना, सुदीप आचार्यको घरबाट २ जना र भोगबहादुर थापाको घरबाट २ जना प्रहरी कर्मचारी फिर्ता गरिएको छ ।

त्यसैगरी पूर्वएसएसपी छविलाल जोशी, पुष्प रन्जीत, रमेशकुमार भट्टराई, अमृतकाजी श्रेष्ठ, गोपालप्रसाद भण्डारी, अच्युतप्रसाद चालिसे, शरदचन्द, सुरेन्द्रबहादुर पाल तथा श्याम खड्काले घरमा काम गर्न नियमविपरीत राखेका प्रहरी कर्मचारीलाई फिर्ता बोलाइएको हो ।

भीआईपी तथा भीभीआईपी सुरक्षा निर्देशिका २०७० अनुसार नियमभन्दा माथि रहेर घरेलु कामदार तथा सुरक्षाका लागि भन्दै राखिएका प्रहरी कर्मचारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका डीआईजी तारणी लम्सालले बताए ।

‘नियमविपरीत विभिन्न व्यक्तिका घरमा राखिएका प्रहरी फिर्ता बोलाइएको हो,’ डीआईजी लम्सालले भने, ‘सुरक्षा थ्रेट भएका व्यक्तिलाई सङ्गठनले सुरक्षा प्रदान गर्दै आएकोछ, र कमी हुन दिने छैन ।’

नियमविपरीत विभिन्न व्यक्तिका घरमा खटिएका सबै प्रहरी कर्मचारीलाई फिर्ता गर्ने पनि उनले बताए ।

याे समाचार पनि पढ्नुहाेस्

पूर्वगृहमन्त्री जनार्दन शर्माको सुरक्षामा ३० सुरक्षाकर्मी, गाडी पनि फिर्ता गरेनन्