नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वडाध्यक्ष कर्मा गुरुङलाई केही दिनअघि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोल्पाको जिम्मा लगाएको छ ।
काठमाडौं : डोल्पाको उपल्लो डोल्पास्थित डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कर्मा गुरुङ बहुमूल्य बुद्धमूर्ति चोरीको अभियोगमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वडाध्यक्ष कर्मा गुरुङलाई केही दिनअघि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोल्पाको जिम्मा लगाएको छ ।
शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको ब्युरोका प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए ।
‘जिल्ला प्रहरी कार्यालय डोल्पाको अनुरोधमा वडाध्यक्ष गुरुङलाई बौद्धबाट पक्राउ गरेका हौं, आवश्यक कारबाहीका लागि जिल्लामा बुझाइएको छ,’ डीआईजी शाहीले भने ।
गुरुङ स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडानम्बर ५ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारको हैसियतमा विजयी भएका थिए ।
ब्युरोले सोही चोरी काण्डमा शे–फोक्सुण्डो गाउँपालिका–४ का उक्रेन पासाङ गुरुङ, झ्याम्पाछुलिडम लामा, छिरिङ दावा गुरुङ र पासाङ लुण्डुप गुरुङलाई पक्राउ गरेको हो ।
८ वर्षअघि राहाप गुम्बाबाट ४२ थान प्राचीन बौद्धमूर्ति चोरी भएका थिए । तर, ती मूर्तिहरु चोरी भएको स्थानीय बासीले गएको साल मात्र थाहा पाएका थिए । स्थानीयले पक्राउ परेकाहरुलाई शङ्काको घेरामा राखी प्रहरीलाई अनुसन्धान गरिदिन आग्रह गरेका थिए ।