महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

काठमाडौँ : थाइल्याण्डमा हुने महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, इण्डोनेसिया, भुटान र म्यान्मा छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा कप्तानको भूमिकामा रुविना क्षेत्री छन् । उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । त्यसैगरी टोलीका अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा छन् ।

अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छन् । टोलीको प्रशिक्षकमा विनोद दास छन् । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ । रासस