रुपन्दहीमा प्रहरी र तस्करसमूहबीच भिडन्त, प्रहरीको गोली लागेर एक तस्करको मृत्यु

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार दोहोरो फायरमा प्रहरीको गोली लागेर घाइते भएका एक तस्करको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा राति मृत्यु भएको हो ।

काठमाडौं : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शङ्करपुरमा तस्कर र प्रहरीबीच भिडन्त भएको छ । प्रहरी र तस्करबीचको गोली हानाहानमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गए राति साढे १२ बजे तस्करलाई नियन्त्रण लिन खोज्दा प्रहरी टोलीमाथी गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार दोहोरो फायरमा प्रहरीको गोली लागेर घाइते भएका एक तस्करको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा राति मृत्यु भएको हो ।

भारतीय नम्बरप्लेट यूपी ५३ एच २०२८ मोटरसाईकलमा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि नै गोली चलाएको प्रहरीले जनाएको छ । गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ हातमा गोली लागेको छ ।

मृतक तस्करको भने अहिलेसम्म पहिचान नखुलेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र एक थान पेस्तोल बरामद गरेको छ ।