लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारबाहीमा

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरेको बताए ।

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरेको हो । जसमा १३ हजार ३३० पुरुष र ९०१ महिला चालक छन् । महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरेको बताए । “आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो”, उनले भने ।

महाशाखाले सीसीटीभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारबाही गर्दै आएको छ । सीसीटीभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई ५०० रूपैयाँ जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारबाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारबाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला छन् । रासस