आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहनेछन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ गरिने छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन हुनेछन् । नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरी सकिएको छ ।
काठमाडौं : पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ ।
स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ ।
समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेका अनुसार मेला तयारीका लागि गठन गरिएका २३ उपसमितिमार्फत सम्पूर्ण काम पूरा भएका छन् ।
सोमबार साँझबाट देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको उनले बताए । ती सवारी फर्कँदा आँपटारी हुँदै फर्कनेछन् । सवारीको पार्किङ्, विद्युत, शौचालय, सरसफाइ, खानेपानीलगायतको व्यवस्था भइसकेको छ ।
आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहनेछन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ गरिने छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन हुनेछन् । नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरी सकिएको छ ।
समितिका अध्यक्ष शिवराज पौडेलले मेलाको सबै तयारी पूरा भएको बताए । उनका अनुसार सोमबार बिहान ९ बजे बेनीमा बाँसको लिङ्गो ठड्याएर विधिवत रुपमा मेलाको शुभारम्भ गरिने छ । सो अवसरमा गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी, महेश सन्यास आश्रमका पिठाधीश रमाणानान्द गिरी, हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, वेदस्त साधना कुटिरस्कीका कृष्णानन्द सरस्वतीलगायतका विशिष्ठ व्यक्ति उपस्थित हुने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
सङ्क्रान्तिको अघिल्लो रात सो धाममा करीब दुई लाख ५० हजार भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने गरेका उहाँले बताए । । आजबाटै भक्तजन आउने क्रम शुरु भएको छ । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।
भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रहिआएको छ । रासस