व्यावसायिक रुपमै सुन्तला खेती गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् ।
सल्यान : जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । व्यावसायिक रुपमै सुन्तला खेती गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । सुन्तलाका बोट र फलमा धमाधम ढुसिको सङ्क्रमण फैलिएर किसान समस्यामा परेका छन् ।
सुन्तलामा बोक्रा कुहिने देखि रुख सुक्ने समस्या देखिएको सुन्तला उत्पादक अङ्गेश्वर डाँगीले बताए । सोकोे नियन्त्रणमा सरोकारवालाको ध्यान पुग्न नसकेमा झन् समस्या आउने उनले जानकारी गराए ।
सुन्तलामा क्याङकर भाइरसका कारण रुखमै बोक्रा कुहिने समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख हनुमान प्रसाद यादवले बताए । सिक्टासिला भाइरसका कारणले ग्रिनिङ्ग रोगको समस्या देखिएको हुन सक्ने उनले बताए । सुन्तलाका बोटमा पात पहेँलो हुँदै जाने, प्रत्येक वर्ष फल सानो हुँदै जाने तथा फलमा स्वाद हराउँदै जाने समस्या देखिएको बताइएको छ ।
सुन्तलामा रोगकिराको समस्या बढ्दै गएपछि न्यूनीकरणका लागि पहल सुरु गरिएको नगर प्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । उनले भने, “मैले यसका जानकारसँग सम्पर्क गर्दा रोग लागेको रुख र फलको नमुना २४ घण्टाभित्र काठमाडौँ प्रयोगशालामा पुग्ने गरी पठाउनुपर्ने रहेछ ।”
ल्याब टेष्टबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा रोग नियन्त्रणका लागि ठोस योजना ल्याइने उनले बताए । एक वर्षमा एउट किसानका १० देखि २० वटासम्म सुन्तलाका बोट तथा हाँगा सुक्न थालेका छन् । सुन्तला उत्पादक किसान भरतनाथ योगीले कोटमौलामा मात्रै पाँच सयदेखि एक हजारको हाराहारीमा बोटमा रोग फैलने गरे बताए । रासस