अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुन सक्छ : ओली

बैङ्ककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँकहाँ अस्थायी राजधानी तोक्ने, कहाँकहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरि निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हु न सक्ने बताएका छन् ।

आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई थाइल्यान्डको राजधानी बैङ्ककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँकहाँ अस्थायी राजधानी तोक्ने, कहाँकहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरि निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताए ।

प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट उनको भनाइ छ । निर्वाचनबाट ताजा जनादेश आइसकेको अवस्थामा नयाँ सरकार गठनमा भएको ढिलाइ लोकतन्त्र र संविधान अनुकूल नभएको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउँदै यस सम्बन्धमा कुनै भ्रम र अन्योल नरहेको उनको दाबी छ ।
परीक्षणको प्रतिवेदनबाट आफ्नो स्वास्थ्य ठीक रहेको पाइएको र बैङ्ककमा रहँदा कुनै अन्य भेटघाट नभएको उनले जानकारी दिए ।

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते बैङ्कक गएका थिए । रासस