ताइवानको अनलाईन जब बैङ्कले गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् ।
ताईपेइ । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ । ताइवानको अनलाईन जब बैङ्कले गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् । उनीहरुले चिनियाँ नयाँ वर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार सार्वजनिक भएको अध्ययनले देखाएको छ ।
ताइवानमा झण्डै नौ लाख जना जागिरेहरु रहेको अनुमान गरिएको छ । उनीहरु बढीमा दश वर्ष मात्रै खुशीका साथ काम गर्न सक्ने देखिएको छ । जागिर परिवर्तन गर्न चाहनेमध्ये ५५ प्रतिशतले तलबमा चित्त नबुझेकाले जागिर परिवर्तन गर्न चाहेको बताएका थिए ।
त्यसैगरी कल्याणकारी सुविधा नभएको, स्तरोन्नतिको सम्भावना नभएको र रोजगारदाताप्रतिको उदासीनताका कारण जागिर परिवर्तन गर्न चाहनेहरुको सङ्ख्या पनि धेरै रहेको पाइएको छ । अध्ययनमा सहभागीमध्ये ६५ प्रतिशतले पहिलेदेखि नै नयाँ जागिरका लागि खोजी गरिरहेको बताएका छन् ।
अध्ययन प्रतिवेदनका अनुसार ८५ प्रतिशतले ताईवानभन्दा बाहिर धेरै तलब पाईने सुरक्षित जागिर खोजिरहेको जवाफ दिएका छन् । गत डिसेम्बरदेखि यही जनवरी ४ तारिखसम्म गरिएको सर्वेक्षणमा ९१२ कम्पनीका एक हजार २०४ जनाले उत्तर दिएका थिए । रासस/सिन्ह्वा