नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जागिरको प्रलोभन देखाएर युवतीलाई बिक्रीगर्ने सुनसरी धरान नगरपालिका १७ का राईलाई सोमबार पक्राउ गरेको हो ।
काठमाडौं । राम्रो जागिर लगाइदिने भन्दै युवतीलाई भारत पुर्याएर वेश्यालयमा बिक्री गर्ने धरानका सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जागिरको प्रलोभन देखाएर युवतीलाई बिक्रीगर्ने सुनसरी धरान नगरपालिका १७ का राईलाई सोमबार पक्राउ गरेको हो ।
राईले बेचेकी ती युवती भारतको राजधानी नयाँदिल्लीबाट भागेर काठमाडौं आई ब्यूरोमा उजुरी गरेपछि राईलाई ब्युरोको टोलीले पक्राउ गरेको हो ।
लामो समयदेखि राईले पूर्वी क्षेत्रका युवतीलाई भारतमा जागिर लगाइदिने भन्दै प्रलोभनमा पारी दिल्ली लगेर वेश्यालयमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राईले दिल्लीका वेश्यालयमा प्रतियुवती ६ लाखका दरमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘राईले राम्रो काम लगाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई नेपाली बालिकालाई झुक्याएर भारत पुर्याउने गरेको देखियो,’ ब्यूरोका प्रमुख डीआईजी निरज शाहीले भने ।’
प्रहरीका अनुसार राईले नेपालबाट लगेका युवतीलाई नयाँ दिल्लीस्थित जीबीरोडको वेश्यालयमा बिक्री गर्ने गरेका थिए ।
उनले यसैगरी लामो समयदेखि नेपाली युवतीहरुलाई वेश्यालयमा बिक्री गर्ने गरेको र उनले लगेका दर्जनौं युवती वेश्यालयमा बन्धक अवस्थामा रहेको प्रहरीको सम्पर्कमा पुगेकी पीडित युवतीले प्रहरीमा बताएकी छन् ।
पक्राउ परेका राईलाई ब्युरोले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा बुझाएको छ ।