जापानमा नेपाली कामदार पठाउन बाटो खुल्दै, बुधबार दुईपक्षीय वार्ता हुँदै

दक्षिण कोरियाले भाषा परीक्षामार्फत नेपाली कामदार लगिरहेको छ । भाषा परीक्षामार्फत कोरिया जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ तोकिएको छ । नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको जापानमा निर्धारित भाषा परीक्षा उत्तीर्ण गरेका युवालाई कामदारका रुपमा लगिनेछ ।

काठमाडौं : जापानमा नेपाली कामदार लैजाने विषयमा मङ्गलबार दुईपक्षीय वार्ता हुने भएको छ । भाषा परीक्षामार्फत जापानले आगामी अप्रिलदेखि कामदार लैजाने तयारी गर्न प्राविधिक समूह काठमाडौं आइपुगेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कामदार लैजाने विषयमा द्विपक्षीय छलफल हुन लागेको बताए । जापानबाट आएको प्राविधिक टोली र मन्त्रालयले गठन गरेको प्राविधिक टोलीबीच छलफल गरी कुन प्रक्रियाबाट कामदार लैजाने भन्ने विषय टुङ्गो लाग्ने उनको भनाइ छ । जापानी टोलीले राखेको प्रस्तावका आधारमा कामदार पठाउने विषयमा टुङ्गो लाग्ने उनले जानकारी दिए ।

यसअघि दक्षिण कोरियाले भाषा परीक्षामार्फत नेपाली कामदार लगिरहेको छ । भाषा परीक्षामार्फत कोरिया जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ तोकिएको छ । नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको जापानमा निर्धारित भाषा परीक्षा उत्तीर्ण गरेका युवालाई कामदारका रुपमा लगिनेछ ।

जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित १४ किसिमका उद्योगलाई पहिलो श्रेणीमा राखिएको छ । नयाँ भिसाका लागि कामदारले अनिवार्य रूपमा सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ  । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

आगामी पाँच वर्षका निम्ति ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ । नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने उल्लेख छ ।