भ्यानको सहयोग निरीक्षण स्थलमै खाद्य पदार्थको गुणस्तर हेर्न सकिने भएपनि मौसमी रुपमा मात्रै हुने अनुगमनका कारण ‘मोबाइल भ्यान’ विभाग परिशरमै थन्किएका हुन् ।
काठमाडौं । तत्काल कार्यस्थलमै पुगेर गुणस्तरहीन खाद्य पदार्थको गुणस्तर जाँच गर्न भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याएको घुम्ती खाद्य प्रयोगशाला भ्यान उपयोगविहीन बनेका छन् । भ्यानको सहयोगले निरीक्षण स्थलमै खाद्य पदार्थको गुणस्तर हेर्न सकिने भएपनि मौसमी रुपमा मात्रै हुने अनुगमनका कारण ‘मोबाइल भ्यान’ विभाग परिशरमै थन्किएका हुन् ।
उपभोक्ताले गुणस्तरका विषयमा गुनासो गरेको खण्डमा सो स्थलमै ‘मोबाइल भ्यान’ लगेर गुणस्तर टेस्ट गर्न सकिन्छ । तर, खाद्य विभागले दशैंमा ‘मोबाइल भ्यान’ को प्रयोग गरेपनि त्यसयता गरेकाे छैन ।
अहिले विभागमा ४ ओटा घुम्ती फुड प्रयोगशाला भ्यान छन् । उपत्यका बाहिरका लागि भनेर ल्याइएका ३ ओटा ‘भ्यान’ विभागमै थन्किएका हुन् । उपत्यकालाइ लक्ष्य गरी एउटा भ्यान प्रयोगमा छ । तर, नियमित रुपमा खाद्य पदार्थको अनुगमन र निरीक्षण हुन नसक्दा भ्यान प्रयोगहीन बनेका हुन् ।
मौसमी रुपमा बढी खाद्य पदार्थको कारोबार हुने बखत दशैं तिहार लगायतका बेलामात्रै भ्यानको प्रयोग हुने गरेको छ । ३ ओटा भ्यान विराटनगर, भैरहवा र धनगढी केन्द्रमा पठाउने भनेपनि भ्यानको भुक्तानी र हस्तान्तरण नभएकाले तत्काल पठाउन नसकिएको विभागले जनाएको छ । भ्यानको पेमेन्ट र हस्तान्तरण छिट्टै हुने भएकाले त्यसपछि मात्रै पठाइने विभागका महानिर्देशक सञ्जीव कर्णले बताए ।
घुम्ती फुड प्रयोगशाला भ्यान किन प्रयोगविहीन भएका हुन् भन्ने क्यापिटल नेपालको प्रश्नमा महानिर्देशक कर्णले छिट्टै साप्ताहिक कार्यतालिका बनाएर अनुगमन र निरीक्षण स्थलमा भ्यानको उपयाेग गरिने जानकारी दिए । ‘अहिले पनि भ्यानको प्रयोग नभएको होइन,’ उनले भने, ‘अब छिट्टै हप्ता/महिनाकै सेड्युल बनाएर अनुगमन र निरीक्षणस्थलमा भ्यान खटाउँछौं ।’
सो भ्यानको प्रयोगले दूध, पानी, तेल, दाल, मसलालगायका खाद्य पदार्थको गुणस्तर निरीक्षणस्थलमै टेस्ट गर्न सकिन्छ । गुणस्तरको नतिजा मल्टिमिडियामार्फत तत्काल हेर्न सकिने भएकाले अनुगमनमा सहजता र कारबाही गर्न सहयोग पुग्ने कर्णले बताए ।