नार्कभित्रै समस्या छ, त्यस्को अनुसन्धान गर्नैपर्छः कृषिमन्त्री खनाल

चितवनको रामपुरमा आयोजित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

काठमाडाैं । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् ((नार्क)भित्रै समस्या रहेको भन्दै त्यस्को अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेका बताएका छन् ।

चितवनको रामपुरमा आयोजित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताए । ‘नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो । वैज्ञानिकको हिजोको विरासत कहाँनिर टुट्यो ?’  उनले प्रश्न गरे ।

मन्त्री खनालले नार्कलाई कुनै आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती कमजोरी खोजी गर्नुपर्ने बताए । आधुनिक कृषिका माध्यमबाट मात्रै मुलुकको विकास र समृद्धि हुने भन्दै त्यस्का लागि अनुसन्धान र किसानलाई प्रविधिमा जोड दिनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा नार्कका परिषद् सदस्य मित्रराज दवाडी, किशोर दाहाल, भरतपुर महानगरका प्रमुख रेनु दाहालको सहभागिता थियो । उनीहरुले कृषिलाई बैज्ञानिकरण गर्दै आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिनुपर्ने आवश्यकता रहेको औल्याए ।