डान्सर कान्छीमायाले लामो समयदेखि हुलाकमार्फत कार्गो गरेर विभिन्न देशमा चरेस पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं । हुलाकमार्फत विभिन्न देशमा चरेस तस्करी गर्ने नुवाकोटकी २९ वर्षिया कान्छीमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले घलेलाई बुधबार हुलाक कार्यालय सुनधाराबाट पक्राउ गरेको हो ।
काठमाडौंको एक डान्सबारमा नाच्ने घलेले हुलाकमार्फत हङकङ, सिङ्गापुर तथा थाइल्यान्डमा चरेस तस्करी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
डान्सर कान्छीमायाले लामो समयदेखि हुलाकमार्फत कार्गो गरेर विभिन्न देशमा चरेस पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लामाले प्रयोग गर्ने धूपबत्तीभित्र चरेस राखेर कान्छीमायाले धूप पठाउने गरेको भन्दै चरेस पठाउने गरेको भेटिएको छ ।
हुलाक कार्यालय सुनधारामा रहेको ब्युरोको टोलीलाई शङ्का लागेपछि धूपबत्तीलाई खोलेर हेर्दा भित्र चरेस फेला परेको थियो ।
सधैं झैं कान्छीमाया धूप पठाउन सुनधारा हुलाक कार्यालय पुगेकी थिइन् । अनुसन्धान अधिकारीका अनुसार कान्छीमायाले धूपबत्ती हङकङ पठाउने तयारी गर्दै फारम भरेर ठिक्क पारेकी थिइन् ।
कान्छीमायाले धूपबत्ती भन्दै १४८ ओटा धूपका बट्टामा १४ किलो चरेस पठाउन लागेका बेला पक्राउ गरिएको ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्यले बताए ।
कान्छीमायालाई अघि सारेर चरेस तस्कर समूह सक्रिय भएको हुनसक्ने प्रहरी अनुमान छ ।
‘हामीले सोध्दा कान्छीमायाले आफै चरेस पठाउने र पछि कोही नभएको बयान दिएकी छन्,’ ब्यूरोका डीआईजी अमात्यले भने ।’
‘लामाले प्रयोग गर्ने धूपको बट्टाभित्र चरेश अनि बाहिर कागज र त्यसभन्दा बाहिर धूप राखेको हुलाकमार्फत चरेस पठाउन लागेको देखियो, हामी अनुसन्धान गर्दै छौ,’ डीआईजी अमात्यले भने ।