डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग

सम्झौताअनुसारको विधेयक बनेमा चिकित्सा शिक्षाका क्षेत्रमा सुधारको नयाँ यात्रा प्रारम्भ हुने नेता थापाको भनाइ थियो । डा केसीले अनशन नबसेको भए देशको स्वास्थ्य र शिक्षा क्षेत्र अस्तव्यस्त हुने दाबी गर्दै नेता थापाले नेपालमा ठूलो दुर्घटना र चलखेल हुनबाट डा केसीले जोगाएको जिकिर गरे ।

काठमाडौ : नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गरेका छन् ।

सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने थापाले बताए । शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसद्मा विधेयकमाथि आफूले फरक मत राख्ने ठाउँ जीवितै रहेको बताउँदै नेता थापाले आज  पत्रकार सम्मेलन गरी भने , “सरकारले चाहेमा सदनको प्रक्रियालाई पूर्ण सम्मान गर्दै डा केसीको सम्झौतालाई विधेयकमा समेट्ने ठाँउ बांँकी नै छ ।”

सम्झौताअनुसारको विधेयक बनेमा चिकित्सा शिक्षाका क्षेत्रमा सुधारको नयाँ यात्रा प्रारम्भ हुने नेता थापाको भनाइ थियो । डा केसीले अनशन नबसेको भए देशको स्वास्थ्य र शिक्षा क्षेत्र अस्तव्यस्त हुने दाबी गर्दै नेता थापाले नेपालमा ठूलो दुर्घटना र चलखेल हुनबाट डा केसीले जोगाएको जिकिर गरे । मापदण्ड विना पहँुचका आधारमा मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया उहाँकै कारण रोकिएको नेता थापाको दाबी थियो ।

थापाले ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरी’ भन्ने शब्दावली प्रस्तावनामा नै राख्नुपर्ने माग गरेका छन् ।  सरकारले सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै अहिले डा गोविन्द केसी १६औँ अनशनमा बसेका छन्।