नागढुङ्गामा चालकको स्वास्थ्य तथा सवारी प्रदूषण परीक्षण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि राजधानी बाहिरिने नाका नागढुङ्गामा सवारी चालकको आँखा परीक्षण थालेको हो । नेपाल प्रहरी अस्पताल तथा यातायात व्यवस्था विभागको समन्वयमा महाशाखाले स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले काठमाडौं बाहिरिने नाका नागढुङ्गामा चालकको स्थास्थ्य परीक्षण थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि राजधानी बाहिरिने नाका नागढुङ्गामा सवारी चालकको आँखा परीक्षण थालेको हो । नेपाल प्रहरी अस्पताल तथा यातायात व्यवस्था विभागको समन्वयमा महाशाखाले स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

महाशाखाका अनुसार बिहीबार विभिन्न ठूला तथा साना सवारी साधनका ५१ जना चालकको आँखा परीक्षण गरिएको थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको र अभियान निरन्तर चल्ने महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए ।

त्यसैगरी बिहीबारबाट महाशाखा र यातायात व्यवस्था विभागले नागढुङ्गामा प्रदूषण परीक्षण पनि थालेको छ ।

महाशाखाका अनुसार बिहीबार गरिएको परीक्षणमा १५ ओटा विभिन्न सवारी साधन प्रदूषण फेल भएको पाइएका छन् । विभिन्न ४७ ओटा सवारी साधन परीक्षण गरेकोमा १५ ओटा फेल भएको र उनीहरुलाई कारबाहीमा तानिएको महाशाखाले जनाएको छ ।