कास्कीको पोखरा लेखनाथ नगरपालिका १५ कालिका मार्गमा बस्दै आएका ४० वर्षीय रामजी घलेले ११ वर्षका छोरा ज्ञापन घलेको घाँटी रेटेर हत्या गरेका हुन् ।
काठमाडौं । पोखरामा एक जनाले ११ वर्षीय छोराको घाँटी रेटेर हत्या गरेका छन् भने गर्भवती श्रीमतीको पनि घाटी रेटेर हत्याको प्रयास गरेका छन् ।
कास्कीको पोखरा लेखनाथ नगरपालिका १५ कालिका मार्गमा बस्दै आएका ४० वर्षीय रामजी घलेले ११ वर्षका छोरा ज्ञापन घलेको घाँटी रेटेर हत्या गरेका हुन् । शुक्रबार बिहानै घलेले छोराको घाँटी रेटेर हत्या गरेको र गर्भवती श्रीमती ३५ वर्षीया सुमित्रा ठकुरीको घाँटी रेटेर हत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
छोराको हत्या र श्रीमतीको हत्याप्रयासपछि रामजी आफैले पनि आत्महत्याको प्रयास गरेको कास्की प्रहरी प्रमुख एसपी आम रानाले जानकारी दिए ।
गम्भीर घाइते श्रीमती सुमित्राले घटनास्थलमा रामजीले मलाई मारेको भन्दै रगतले भित्तामा लेखेको प्रहरीले जनाएको छ । सुमित्राको गर्भमा रहेको बच्चाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामजीले पनि आफ्नो घाँटी आफै काटेर आत्महत्याको प्रयास गरेको एसपी रानाले बताए । घाइते दम्पतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।