नेपाल प्रहरी संसारमै उदाहरणीय : आईजीपी खनाल

प्रहरी सेवालाई पारदर्शी बनाउँदै अघि बढेको भन्दै आईजीपी खनालले प्रहरीले गरेका केही कमीकमजोरी भए खुलेरै सुझाव दिन आग्रह गरे ।

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसारमै नेपाल प्रहरीको काम उदाहरणीय भएको दाबी गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको नवनिर्मित नागरिक सहायता कक्ष भवन उद्घाटन गर्दै आईजीपी खनालले मानवअधिकारको संरक्षण गर्दै समुदायसँगै मिलेर समुदायकै हितमा काम गर्दै आएको दाबी गरे ।

प्रहरी सेवालाई पारदर्शी बनाउँदै अघि बढेको भन्दै आईजीपी खनालले प्रहरीले गरेका केही कमीकमजोरी भए खुलेरै सुझाव दिन आग्रह गरे । प्रहरी सेवा खोज्दै आएका नागरिकबाट घुस खाने प्रहरीलाई ठाउँको ठाउँ कारबाही गर्दै आएको भन्दै उनले विगतमा जस्तो प्रहरीले घुस खायो भन्ने नसुनिएकोसमेत दाबी गरे ।

समाजमा अराजकता फैलाउनेदेखि गुन्डाहरुको जरै उखेलेर नष्ट गर्न जरुरी रहेको उनको भनाइ छ । गुण्डागर्दीको जरै उखेल्न मातहतका अधिकारीलाई आईजीपी खनालले निर्देशनसमेत दिएका छन् ।

भवन निर्माणमा नेपाल–बङ्गलादेश बैङ्कले १९ लाख ५० हजार सहयोग गरेको हो । नागरिक सहायता कक्षमा सेवाग्राहीका लागि फ्रि वाइफाई, टेलिभिजन, चिसोतातो पानी, निःशुल्क आवेदन फारम राखिनेछ ।