पानीमुनीबाट पक्राउ परे युवती तस्कर

लामो समयदेखि भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका लामालाई प्रहरीले पानीमुनीबाट पक्राउ गरेको हो ।

काठमाडौं । नेपाली युवतीलाई भारत हुँदै विभिन्न खाडी मुलुकमा तस्करी गर्ने समूहका नाइके ओखलढुङ्गाका लोप्साङ लामालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका लामालाई प्रहरीले पानीमुनीबाट पक्राउ गरेको हो ।

राम्रो जागिरको प्रलोभनमा भारतको राजधानी दिल्ली लगेर नेपाली युवतीलाई खाडी पुर्याउने समूहका लामा गिरोहका नाइके भएको भारतीय सञ्चारमाध्यामले बताएका छन् ।

दिल्ली प्रहरीले पिछा गरेको थाहा पाएपछि लामाले प्रहरीको आँखा छलेर यमुना नदीमा हाम फालेका थिए । पानीभित्र छिरेका लामालाई प्रहरीले पानीमै गएर पक्राउ गरेको हो ।

गएको साउनमा भारतबाट उद्धार गरिएका १६ नेपाली युवतीले लामाको नाम दिएका थिए । त्यसपछि भारतीय प्रहरीले लामाको खोजी थालेको थियो । सो तस्कर समूहमा भारतीयहरु पनि भएको बताइएको छ ।

लामा नेपाली युवतीलाई विभिन्न नाका हुँदै भारत पुर्याई त्यहाँबाट अफ्रिकीलगायत खाडी मुलुकमा पठाउने समूहको नाइके भएको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।